ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कात्तिक १ पछि आईपीओ स्वीकृति ठप्प

स्वीकृतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएर पर्खिने कम्पनीको संख्या २२

२०८० मंसिर, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाढीले दोस्रो बजारमा आपूर्ति बढेको गुनासो आएसँगै नेपाल धितोपत्र बोर्डले कात्तिक १ गतेपछि आईपीओ स्वीकृति दिएको छैन । 

कात्तिक १ गते बोर्डले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियम मूल्यसहित प्रतिकित्ता २०६ रूपैयाँमा आईपीओ विक्री गर्न अनुमति दिएको थियो । त्यसपछि आईपीओ अनुमति ठप्प छ । 

नियमपूर्वक प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ अनुमति दिँदा पनि बोर्डको नेतृत्व र व्यवस्थापनको आलोचना हुन थालेपछि अध्यक्ष रमेशकुमार हमालले स्वीकृति प्रक्रियामा ढिलाइ गरेका हुन् । नियमपूर्वक काम गर्दा पनि अनेकौं मुद्दा मामिलाको सामना गर्नुपरेकाले कार्यसम्पादन नै सुस्त हुन पुगेको हमालले दाबी गरे । 

बोर्ड अध्यक्षले प्रक्रिया पूरा गरेको फाइल स्वीकृत गर्दा आलोचना भएपछि सञ्चालक समितिमार्फत फाइल स्वीकृत गराउने मनसाय अध्यक्ष हमालको थियो । उनले ‘बजारको दीर्घकालीन विकासका लागि’ आफूले अघि सारेको नीति प्रभावकारी हुने/नहुने विषयमा अहिले व्यवस्थापनसँग छलफल जारी रहेकाले सञ्चालक समितिमा उक्त प्रस्ताव पुगिनसकेको बताए । 

बोर्डमा सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रियाका लागि विभाग गठन गरेर स्वच्छ र पारदर्शी रूपमा काम भइरहेकोमा अनावश्यक आलोचनाबाट काम गर्ने कर्मचारी त्रसित भएको हमालले बताए । उनले यस्ता गतिविधिले नेपालमा सही कामको मूल्यांकन नहुने कुराको पुष्टि गर्ने समेत बताए ।

केही लगानीकर्ताको मागबमोजिम बोर्डले आईपीओ स्वीकृति प्रक्रियामा ढिलाइ गरेपछि चाँडै नै यसको निकास खोज्नुपर्नेमा लगानीकर्ताले नै जोड दिएका छन् । शेयर लगानीकर्ता संघ (नेपाल) का कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले दोस्रो बजारको सकारात्मक गति तय गर्न आईपीओ स्वीकृति प्रक्रिया रोक्नु उचित नहुने बताए । आलोचना भयो भन्दैमा नियामक निकायले आफ्नो नियम नै उल्लंघन गरेर आईपीओ स्वीकृतिमा ढिलाइ गर्न नहुने उनको तर्क छ । 

धितोपत्रको दोस्रो बजारप्रति लगानीकर्ताको जति चिन्ता छ त्योभन्दा बढी चिन्ता र जिम्मेवारी नियामक निकायले लिनुपर्ने भएकाले बजारको भविष्यलाई ध्यानमा राखी बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियालाई निरन्तरता दिनुपर्ने फुल्लेलले बताए । 

पछिल्लो समय बोर्डले सार्वजनिक निष्कासनलाई विशेष प्राथमिकताका साथ अघि बढाएको थियो । बोर्डको यो प्राथमिकताकै कारण वास्तविक क्षेत्रका कम्पनीदेखि जलविद्युत् क्षेत्रका धेरै कम्पनीले आईपीओमा चासो देखाएका छन् । राम्रा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिनेदेखि बुक बिल्डिङ विधिबाट समेत शेयर बेच्न दिने बाटो बोर्डले खुला गरेको थियो ।

लामो समयदेखि अन्योल बनेको बुक बिल्डिङ विधिमार्फत शेयर बेच्ने प्रक्रिया सर्वोत्तम सिमेन्टले अघि बढाएको छ । सर्वोत्तमले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि यो विधिबाट आईपीओ विक्री गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा विक्री भएको आईपीओको कटअफ मूल्य ४०१ रूपैयाँ निर्धारण भएको छ । अब यो मूल्यभन्दा १० प्रतिशत कममा कम्पनीले सर्वसाधारणलाई शेयर बेच्नेछ । 

अर्को एउटा कम्पनीले पनि बुक बिल्डिङ विधिबाट शेयर बेच्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले न्यूनतम ६०८ रूपैयाँदेखि अधिकतम ९१२ रूपैयाँमा बुक बिल्डिङ विधिबाट शेयर विक्रीका लागि २०७९ असार ३१ गते नै बोर्डमा निवेदन दिएको थियो । यो कम्पनीसँगै २२ कम्पनीले आईपीओ अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । बोर्डमा निवेदन दिने २२ कम्पनीमा अन्य समूह अन्तर्गतका ७, होटल तथा पर्यटनतर्फका २, जलविद्युत् समूहका ११, उत्पादन तथा प्रशोधन समूहका २ कम्पनी छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)