वीरगञ्ज। मधेशको कृषि क्षेत्रको उपयोगमार्फत आर्थिक विकासमा छलाङ मार्न सकिने सम्भावना भए पनि त्यसको उपयोग हुन नसकेको निजीक्षेत्रले बताएको छ । मधेश प्रदेशका उद्योगी व्यापारीहरूले संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई मन्त्रालयमै भेटेर यस्तो बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीको नेतृत्वमा गएका उद्यमीहरूले मन्त्री भुसाललाई शुक्रवार भेटेर मधेशको कृषि सम्भाव्यताको उपयोगका लागि प्रभावकारी रणनीति बनाउन आग्रह गरे । मधेश प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको र यहाँ श्रमशक्तिको आपूर्ति सहज हुने भएकाले कृषिको व्यावसायिक प्रवर्द्धनमा सहयोग पुग्ने निजीक्षेत्रको भनाइ छ । यो प्रदेशमा तरकारी, फलफूल, माछा, मासुको व्यावसायिक उत्पादन र खपतको उच्च सम्भावना रहेको टेमानीले बताए ।
मन्त्री भुसालले देशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने कृषिको सम्भाव्यता उपयोगमा सरकार गम्भीर रहेको बताए । कृषि क्षेत्रको प्रवर्द्धनका लागि सरकार निजीक्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उनले बताएको भेटमा सहभागी वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले जानकारी दिए ।
मधेशमा समथर तथा उर्वर भूमि रहेकाले कृषिको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना उद्यमीहरूले औंल्याएका छन् । मधेश धान, मकै, गहुँ, तरकारी, फलफूल र माछापालनको सम्भाव्यताका हिसाबले अगाडि रहेको उनीहरूले बताएका छन् ।
माछापालनमा मधेशका सबै जिल्ला अग्रस्थानमा रहेकाले आधुनिक प्रविधि प्रयोग गरी माछामा आत्मनिर्भर हुन सकिने महासंघ, मधेश प्रदेशको भनाइ छ । यसका लागि कृषिलाई प्रविधिमैत्री र तुलनात्मक लाभको खेतीमा प्रोत्साहन गरिनुपर्ने सुझाव उद्योथी व्यवसायीले दिएका छन् । जनशक्तिलाई कृषिमा आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको छ ।
सामूहिक वा सहकारी कृषि प्रणालीमार्फत कृषियोग्य जग्गा उपयोगमा ल्याउनुपर्ने, सिँचाइ आयोजनाको विस्तार, मलखाद तथा बीउको सहज उपलब्धता र अनुदान, प्रविधिमा प्रोत्साहन र सहुलियत, प्रत्येक जिल्लामा कृषि बजारको व्यवस्थामार्फत कृषिको सम्भावना उपयोग गर्न सकिने सुझाव मन्त्री भुसाललाई दिइएको छ ।