काठमाडौं। नेपाल वायुसेवा निगमले नेपाललाई निगमको कमजोरीका कारण युरोपेली संघ (इयु)को सुरक्षा सूचीबाट नहटाइएको भन्ने आशयको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । गत बुधवार इयुले नेपाललाई हवाई सुरक्षा सूचीमै राखिएको बेहोराको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो । त्यसपछि प्रकाशित कतिपय समाचारमा नेपाल उक्त सुरक्षा सूचीमा पर्नुमा निगमको कमजोरी कारण रहेको उल्लेख गरिएकोप्रति निगमले आपत्ति व्यक्त गरेको छ ।
गत बुधवार इयुले नेपाललाई हवाई सुरक्षा सूचीमै राखिएको बेहोराको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।
‘इयुबाट प्राधिकरणका महानिर्देशकलाई प्राप्त भएको पत्रमा नेपाललाई इयु सुरक्षा सूचीबाट नहटाउनुको कारण प्राधिकरणको न्यूनतम अन्तरराष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागू गर्ने जिम्मेवारी पूरा गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएको भन्ने स्पष्टसँग उल्लेख हुँदाहुँदै पनि नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपाललाई उक्त सूचीबाट नहटाइएको भनी भ्रमपूर्ण प्रचार भएको पाइएको छ,’ आइतवार निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त समाचारहरूबाट आममानिसमा भ्रम सृजना भएको छ । निगम त्यस्ता समाचारको त्यसको खण्डन गर्दछ ।’ तथ्य र यथार्थ जानकारीविना अनुमानका आधारमा मिथ्या प्रचार गरी प्रकाशित कुनै पनि सामग्रीबाट राष्ट्रिय ध्वजावाहकको संस्थागत शाखमा आँच पुर्याउने प्रयास भएको समेत निगमले बताएको छ । यस्ता समाचार प्रकाशन/प्रसारण गर्ने सम्बन्धित सञ्चारमाध्यमलाई निगमको आधिकारिक धारणासहित पेशागत मर्यादा र संवेदनशीलतालाई आत्मसात् गरी सत्य, तथ्य र प्रमाणको आधारमा समाचार प्रवाह गर्न पनि निगमले आग्रह गरेको छ ।