काठमाडौं। प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने युट्युबसहित १८ मिडियालाई कारबाहीका लागि सिफारिश गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
मिडियाअन्तर्गत दर्ता नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल)बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
यसअघि सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतंकित पार्ने सामग्री सम्प्रेषण गरेको भन्दै मङ्सिर ८ गते काउन्सिलले युट्युबसहितका १७ ओटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।