वीरगञ्ज । बहुराष्ट्रिय पेन्ट उत्पादक कम्पनी केएनपी जापान प्रालिले वीरगञ्जको नारायणी अस्पतालमा पोस्ट नेटल केयर (पीएनसी) वार्ड बनाइदिने भएको छ । वीरगञ्ज महानगरपालिकाको पहलमा सो कम्पनी अस्पतालमा सो संरचना तयार गर्न तत्पर भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले बताए । आइतवार एक कार्यक्रमबीच महानगर, अस्पताल र केएनपीबीच सो पूर्वाधार निर्माणका लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा महानगरका निमित्त कार्यकारी अधिकृत अरविन्दलाल कर्ण, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट साह र केएनपीका कन्ट्री हेड मनोज मिश्रले हस्ताक्षर गरेका छन् । महानगरका प्रमुख राजेशमान सिंहले कम्पनीले गरेको योगदानको प्रशंसा गरे । उनले वीरगञ्जमा सामुदायिक विद्यालय सुधारको अभियानमा पनि सहयोग गर्न आग्रह गर्दै महानगरले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट साहले मातृ मृत्युदर घटाउन यो पूर्वाधार प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनका अनुसार यस्तो वार्डको अभावमा अहिले सुत्केरीलाई सुत्केरी भएकै दिन डिस्चार्ज गर्नुपर्ने बाध्यता छ । यो पूर्वाधार तयार भएपछि कम्तीमा १ दिन अस्पतालमै राखेर हेरचाह गर्न सकिने उनले बताए ।
केएनपीका निर्देशक अशोककुमार वैदले कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत यो वार्ड बनाउन लागिएको बताए । करीब ४० लाख रुपैयाँ खर्च लाग्ने यो पूर्वाधार डेढ महीनाभित्रै निर्माण गरिने पनि उनले जानकारी दिए ।