ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजीक्षेत्रलाई

२०८० मंसिर, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ । सोमवार समिति र प्रालिबीच पाँच वर्षका लागि २ करोड ८८ लाख रुपैयाँ न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महशुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो ।

करार सम्झौतामा समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिई वार्षिक १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको बताए ।

चालू आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी गर्ने उल्लेख भए पनि कार्यालय खारेज नहुने उनले बताए । संस्था अझै बलियो भएर जाने र खारेजी भए पनि कुनै समस्या नपर्ने गरी व्यवस्थापन गर्नेतर्फ आफूहरूले सोचिरहेको उनको भनाइ छ । चोभार सुक्खा बन्दरगाह सञ्चालन भएको करीब २० महीना अवधिमा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको उनले बताए ।

उक्त सुक्खा बन्दरगाह निजीक्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनका लागि दिँदा प्रभावकारी सञ्चालन एवं व्यवस्थापनले सरकारलाई प्राप्त हुने राजस्व बढ्ने गजुरेलले बताए । बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनका लागि बल्खु–दक्षिणकाली सडक खण्डको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्य द्वारबाट चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गर्नुपर्ने उनको भनाइ छ । सो सडकलाई चार लेनको बनाउने र निजगढ–काठमाडौं द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको उनले बताए ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौती रहे पनि त्यसलाई ध्यानमा राखेर गृहकार्य शुरू गरिसकेको बताए । सुक्खा बन्दरगाहको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा नेपाल इन्टरमोडल यातायात विकास समिति लगायत अन्य सरकारी तथा सरोकारवाला निकायबाट विगतमा प्राप्त गरेको साथ र सहयोग आगामी दिनमा समेत प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

समितिले गत साउन ९ गते टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यू नेपाल ढुवानी सेवा कम्पनीले आवेदन दिएका थिए । समितिले प्राविधिक मूल्यांकनपछि ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको अनुमति दिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)