ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हबिब बैंकले हिमालयन बैंकको शेयर हिमालयन रिलाई विक्री गर्दै

२०८० मंसिर, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन बैंकको विदेशी साझेदार पाकिस्तानी हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको शेयर हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई विक्री गर्ने भएको छ । 

हबिब र हिमालयन रि बीच प्रतिकित्ता १३० रुपैयाँमा शेयर किनबेचका लागि सम्झौता भइसकेको र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको स्रोतले जानकारी दिएको छ । सिभिल बैंकसँग मर्जर हुनुअघि हिमालयनमा हबिबको २० प्रतिशत शेयर स्वामित्व रहेको थियो । मर्जरपछि शेयर समायोजन हुँदा हबिबको स्वामित्व १२ प्रतिशतमा झरेको छ । यसअनुसार उसले २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर विक्री गर्न लागेको हो । यद्यपि यसबारेमा बैंक, रि इन्स्योरेन्स कम्पनी तथा नेपाल राष्ट्र बैंकले औपचारिक रूपमा जानकारी दिएका छैनन् । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को प्रावधान अनुसार बैंक, वित्तीय संस्था सञ्चालनको ५ वर्षसम्म संस्थापक शेयर विक्री गर्न पाइँदैन । त्यसपछि पनि संस्थापक शेयर संस्थापक समूहमै रहने गरी विक्री नभएको अवस्थामा मात्र बाहिर विक्री गर्न पाउने प्रावधान छ । 

हबिब र हिमालयन रिबीच भएको सम्झौतालाई राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र खरीद विक्री प्रक्रिया अघि बढ्नेछ । 

यस्तै २ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका कम्पनी तथा संगठित संस्थाको शेयर विक्रीका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ । ऐनको उक्त प्रावधान अनुसार हबिब र हिमालयन रिबीच भएको सम्झौतालाई राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र खरीद विक्री प्रक्रिया अघि बढ्नेछ । 

बाफियाको दफा ११ (५) मा ‘संस्थापकको शेयर कुनै कम्पनी वा संगठित संस्थाले लिएको अवस्थामा त्यस्तो कम्पनी वा संगठित संस्थाको उल्लेख्य स्वामित्व भएका शेयरधनीहरूमा हेरफेर, शेयर विक्री वा हस्तान्तरण गर्नुअघि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु पर्नेछ’ उल्लेख छ । 

तर, बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको २ प्रतिशतभन्दा कम शेयर धारण गर्ने कम्पनी वा संगठित संस्थाले शेयर विक्री वा हस्तान्तरण गर्नु अघि राष्ट्र बैंकको पूर्वस्वीकृति लिन आवश्यक नपर्ने ऐनमा व्यवस्था छ । 

हबिबले ४ वर्षअघि नै हिमालयनको शेयर विक्री गर्न खोजेको थियो । हबिबले बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) सँग सम्झौता गरे पनि हिमालयनका सञ्चालकको विरोधपछि भाँडिएको थियो । 

अहिले भने पुनर्बीमा कम्पनी हिमालयन रि ले बैंकको शेयर किन्न लागेको हो । कम्पनीको अध्यक्षमा गोल्छा समूहका शेखर गोल्छा रहेका छन् । उनी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)