ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उल्टो घर हेर्न भीड दैनिक ७० हजार आम्दानी 

२०८० मंसिर, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । पहिलोपटक उत्तरी मोरङको टाँडीमा पुग्दा जोकोही पनि छक्क पर्छन् । आन्तरिक पर्यटकको घुइँचो लाग्ने मिक्लाजुङ–३ टाँडीको निसेलुङ पार्कमा रहेको उल्टो घर अर्थात् घरको छानाचाहिँ जमीनतिर अनि घरको बेसमेन्टचाहिँ आकाशतिर देखेपछि पर्यटक आस्चर्यचकित हुन्छन् । 

आखिर कसरी यस्तो सम्भव भयो होला भन्ने कौतुहलले नै आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ । एक महीनाअघि सर्वसाधारणका लागि खुला गरिएको पार्कमा दैनिक प्रवेश शुल्कबाट मात्रै सरदर ७० हजार आम्दानी भइरहेको छ । 

एक जनाको प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ । पूर्वपश्चिम राजमार्गबाट झन्डै १४ किलोमीटर उत्तरमा पर्ने मोरङको पहाडी क्षेत्र निसेलुङ झापा र इलामको संगम क्षेत्र हो ।

निसेलुङ आफैमा पर्यटकीय क्षेत्र हो । त्यहाँ आन्तरिक र बाह्य पर्यटकलाई भित्त्याउन निसेलुङ पर्यटन प्रवद्र्धक समितिले करीब ५२ लाखको लागतमा उल्टो घर बनाएको छ । त्यो घरको अवलोकन गर्न १ महीनादेखि दैनिक सयौं मानिसको भीड लाग्ने गरेको छ । 

घरका सबै संरचना उल्टो छ । एउटा सुल्टो घरलाई ठूलो क्रेनको सहायताले उल्टो बनाउँदा देखिने सबै वस्तु हुबहु छन् । छत भुइँमा र फाउन्डेशन माथिल्लो तलामा छ । सबै कोठा उल्टा छन् । 

बेडरूम, बेड, वाथरूम, भान्सा, डाइनिङ सबै उल्टा छन् । निसेलुङ पर्यटन प्रवद्र्धक समितिका अध्यक्ष खगेन्द्र मादेनले भने, ‘यो भवन निर्माणका लागि भारतको जलपाइगुढीबाट कालीगढ र इन्जिनीयर ल्याइएको हो ।’

भारतको जलपाइगुडीमा यस्तो घर बनेको थाहा पाएपछि इन्टरनेटमा हेर्दा थाइल्यान्डमा समेत यस्तो घर बनेको देखेपछि यस्तै घर बनाउने हुटहुटी चल्यो । भारतको जलपाइगुडी पुगेर त्यहाँको उल्टो घर बनाउने इन्जिनीयर, मिस्त्री समेतलाई ल्याएर १ महीना लगाएर यहाँ त्यस्तै घर बनाइएको मादेनले बताए । 

घरको अगाडि पार्किङ गरिएको कार पनि उल्टो भएकाले पर्यटकहरू सेल्फी लिन नै पैसा तिरेर पार्कमा छिर्ने गरेको उनले बताए । उनका अनुसार मोरङ, झापा र इलामको संगम क्षेत्र निसेलुङबाट मधेश र पहाडको दृश्यसहित इलामको श्रीअन्तुबाट देखिन सूर्योदयको दृश्य पनि देखिन्छ । त्यो दृश्य हेर्न स्थानीय पर्यटक आउने जाने गर्थे । 

उल्टो घरको अवलोकनका लागि सर्वसाधारणलाई सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । पहिलो दिन १ लाख ३ हजार रुपैयाँ समितिलाई आम्दानी भएको थियो । अध्यक्ष मादेनले भने त्यसयता दैनिक सरदर ७० हजार रुपैयाँ आम्दानी भइरहेको छ । हाल यो पार्कको उल्टो घरसहित भ्यूटावरबाट तराई, मधेश र सूर्योदयको दृश्य अवलोकनका लागि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, पोखरा, चितवन र सिराहा सप्तरीसहित भारतको सीमावर्ती क्षेत्रबाट पनि पर्यटक आउने क्रम बढेको स्थानीय किशोर निरौलाले बताए । 

करीब एक बिगाहा जमीनमा रहेको टाँडीको निसेलुङ पर्यटकीय क्षेत्रमा उल्टो घरमात्र ५२ लाखमा निर्माण गरिएको हो । त्यसबाहेक पर्यटकका लागि भ्यूटावर, चिल्ड्रेन पार्क, पिङ, फाउन्डेशन र मिसिलुङ मन्दिर निर्माण गर्दा सवा करोड लगानी भएको छ । मादेनले भने, ‘अहिले उल्टो घरको अवलोकन गरेर भ्यूटावरबाट तराई र मधेशको दृश्य हेर्ने अनि सूर्योदय हेरेर फर्कने व्यवस्था मात्र छ ।’ उनका अनुसार पर्यटकलाई राति वास बसाउन समितिले गेष्ट हाउस निर्माण गर्दै छ ।

निसेलुङ पर्यटकीय क्षेत्रमा हालसम्म करीब १ करोड रुपैयाँ खर्च भएको छ । मोरङ–१ का संघीय सांसद तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले संसद् विकास कोषबाट १० लाख, समितिका अध्यक्ष खगेन्द्र मादेनले २५ लाख, मिक्लाजुङ गाउँपालिकाले १० लाख र निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बुले सांसद विकास कोषबाट ३१ लाख २५ हजार र जनसमुदायवाट १५ लाख ६५ हजार रुपैयाँ सहयोग भएको मादेनले जानकारी दिए । उनका अनुसार पार्क निर्माणका लागि स्थानीय शेरबहादुर लिङदेनले ७ रोपनी, बृखबहादुर साम्बाले ३ रोपनी र बुद्धिमान जबेगुले पाँच आना जमीन उपलब्ध गराएका थिए । 

उक्त पार्क निसेलुङ फन पार्कले समितिलाई वार्षिक ३ लाख शुल्क तिर्ने शर्तमा १० वर्षका लागि लिजमा लिएको छ । पार्कका सञ्चालक इन्द्रमणि भट्टराईका अनुसार उल्टो घर र त्यसका संरचना अनौठो छ र त्यो दृश्य हर्ने आउने आन्तरिक र सीमावर्ती भारतीय पर्यटकको भीड दिनहुँ लाग्ने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)