काठमाडौं। भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले तीन राज्यमा जित हासिल गरेको छ । यस्तै इन्डियन नेशनल कंग्रेस र जोरोम पिपुल्स मुभमेन्ट (जेपीएम) एक/एक राज्यमा विजयी भएको भारत निर्वाचन आयोगले घोषणा गरेको छ । आइतवार सम्पन्न मतदानको परिणामअनुसार भाजपा छत्तीसगढ, राजस्थान र मध्यप्रदेशमा विजयी भएको छ । छत्तीसगढ र राजस्थानमा यसअघि कंग्रेसको सरकार थियो । मध्यप्रदेशमा भने भाजपा नै सत्तामा छ । यसैगरी कंग्रेसले तेलंगना राज्यमा जित हासिल गरेको छ । तेलंगनामा भाजपाको विरोध गर्ने पार्टीको रूपमा चिनिएको तेलंगना राष्ट्र समितिको शासन थियो । पाँचौं राज्य मिजोरममा सोमवार भएको मतगणना अनुसार जेपीएम विजयी भएको हो । यहाँ भाजपाको क्षेत्रीय सहयोगी दल मिजो नेशनल फ्रन्ट सत्तामा थियो । यी पाँच राज्यमा गत महीना मतदान भएको थियो ।