ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से ३० इन्डेक्स सञ्चालनमा ढिलाइ

२०८० मंसिर, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं। धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर कारोबारका लागि नयाँ सूचकांक ‘नेप्से ३० इन्डेक्स’ असोजमै सञ्चालनमा ल्याउने तयारी गरे पनि अझैसम्म कागजमै सीमित छ । दशैंअगाडि नै सञ्चालनमा आउने भनिएको नेप्से ३० इन्डेक्समा ढिलाइ हुँदा लगानीकर्ताले प्रश्न उठाउन थालेका छन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सञ्चालक समिति बैठक बस्न नसक्दा नेप्से ३० इन्डेक्स सञ्चालनमा ढिलाइ भएको बताए । यो इन्डेक्स सञ्चालनको लागि आवश्यक प्राविधिक तथा नीतिगत सबै काम पूरा भइसकेको छ । अब सञ्चालक समिति बैठकले नेप्से ३० कार्यान्वयनमा लैजाने मिति तोकेपछि काम हुने उनी बताउँछन् । 

अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल यस्तो सानो सब–इन्डेक्स सञ्चालन गर्न सञ्चालक समितिको बैठक नै बस्नु नपर्ने बताउँछन् । भन्छन्, ‘यस्ता प्रोडक्ट सही किसिमले सही तरीकाबाट छिटो आउनुुपर्छ । सबै प्रक्रिया पूरा भइसकेपछि कार्यान्वयनमा लैजान ढिलो गर्नु हुँदैन ।’

यसमा दोस्रो बजारमा सूचीकृत भई कारोबारमा रहेकामध्येबाट ५ ओटा मापदण्डका आधारमा छानिएका प्रमुख ३० कम्पनी राखेर इन्डेक्स बास्केट तयार पारिनेछ । 

के हो नेप्से ३० इन्डेक्स ? 

नेप्से–३० अहिलेको जस्तै एउटा इन्डेक्स हो । यसले अन्य इन्डेक्सले जस्तै बजारको उतारचढाव देखाउँछ । स्टक एक्सचेन्जले नेप्से ३० इन्डेक्समा पर्ने कम्पनी छानेर आन्तरिक परीक्षण पनि गरिसकेकोे छ । 

निश्चित मापदण्डसहितका कम्तीमा ३० कम्पनीको मात्रै कारोबार प्रतिबिम्बित हुने गरी यस्तो सूचक तयार गरिएको हो । नेप्से ३० सूचकांकबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुने नेप्सेको भनाइ छ । 

नेप्से ३० इन्डेक्समा कारोबार गर्न बैंकिङ समूहका ८, जलविद्युत् समूहका ५ कम्पनी छन् । त्यस्तै बीमा समूहका ५, उत्पादन तथा प्रशोधन समूहका २, लघुवित्त समूहका ७ र अन्य समूहका ३ कम्पनी छानेर परीक्षण शुरू गरिएको नेप्सेले जनाएको छ । 

नेप्से ३० इन्डेक्सका लागि दोस्रो बजारमा सूचीकृत भई कारोबारमा रहेकामध्येबाट ५ ओटा मापदण्डका आधारमा छानिएका प्रमुख ३० कम्पनी राखेर नेप्सेले इन्डेक्स बास्केट तयार पार्नेछ । 

प्रतिशेयर चुक्ता मूल्यभन्दा प्रतिशेयर किताबी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा ३ वर्ष खुद नाफामा रहेको हुनुपर्नेछ । त्यस्तै अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षको मूल्य वृद्धिदरभन्दा बढी भएको कम्पनीहरूलाई यो इन्डेक्स गणनामा समावेश गरिनेछ । 

कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्री फ्लोट बजार पूँजीकरणमा सम्बद्ध कम्पनीको फ्री फ्लोट बजार पूँजीकरण १ प्रतिशतभन्दा बढी रहेको हुनुपर्नेछ । 

शेयरधनीको संख्या कम्तीमा २० हजार रहेको र पछिल्लो ६ महीनामा दैनिक औसत २५ लाख रुपैयाँ वा त्योभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार वा त्योभन्दा बढी कित्ताको कारोबार भएको हुनुपर्नेछ । दैनिक औसत ४० वा त्योभन्दा बढीपटक कारोबार भएको र पछिल्लो ६ महीनामा उपलब्ध कारोबार दिनमध्ये न्यूनतम ७५ प्रतिशत दिनमा कारोबार भएको हुनुपर्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)