ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसेल शेयर विक्री प्रकरण: सरकारले थाल्यो छानबिन

२०८० मंसिर, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं।  मलेसियाली टेलिकम जायन्ट आजियाटा ग्रूपले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई विक्री गरेको विषयमा सरकारले छानबिन थालेको छ । 

आजियाटाले सम्बद्ध निकायलाई जानकारी नै नदिई शेयर विक्री गरेको जानकारी गराएपछि सरकारले छानबिन थालेको हो । संसदीय समितिले समेत यसमा चासो देखाएको छ । सरकारले यस विषयमा छानबिन थालेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको हो । उहाँका अनुसार आजियाटाले सम्बन्धित निकायलाई जानकारी नै नदिई यति ठूलो कदम चालेको छ । विगतमा पनि यस्तै विवादित निर्णय लिएकाले अहिलेको घटनाको वास्तविकता पत्ता लगाउन सरकारले छानबिन थालेको हो । 

‘विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा प्रस्तुत भएको छ । अहिले फेरि एनसेलको कुरा आएको छ,’ मंगलवार मधेश प्रदेशको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘मैले सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देश गरिसकेको छु, छानबिन शुरू भइसकेको छ । नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन । छानबिन गरेर दोषीउपर कारबाही गरिन्छ ।’

अर्थमन्त्री डा प्रकाशशरण महतले पनि एनसेलको शेयर विक्री प्रकरणबारे सरकारले विस्तृत छानबिन थालेको बताएका छन् । सरकारलाई आधिकारिक जानकारी नदिई यत्रो ठूलो कारोबार हुनु रहस्यको विषय बनेको उनको भनाइ छ । ‘यस विषयमा हामीलाई एनसेलले जानकारी दिएन । नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरणलाई वास्तविकता के हो तत्काल पत्ता लगाउन सरकारले निर्देशन दिइसकेको छ । प्राधिकरणमार्फत जानकारी लिएर छानबिन गर्छौं,’ चितवनका पत्रकारसँग अर्थमन्त्री डा महतले भने । कर छलीको विषयमा आफूले सरोकारवाला निकायसँग छलफल थालिसकेको समेत मन्त्री महतले बताएका छन् ।

हालै आजियाटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत शेयर ५ करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रुपैयाँ)मा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको बताएको थियो । उसले सार्वजनिक गरेको प्रेस नोटमा सन् २०२९ सम्मको लाभांश आजियाटाले नै पाउने शेयर खरीद सम्झौताको शर्त रहेको पनि उल्लेख छ ।

स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो । यसको सञ्चालकमा सतीशलाल आचार्य छन् । आचार्य एनसेलमा २० प्रतिशत शेयर भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन् । अब एनसेलमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आचार्य समूहकै शतप्रतिशत शेयर स्वामित्व कायम हुने देखिन्छ ।

आजियाटा सन् २०१६ मा नेपाल आएको थियो । त्यसबेला १ अर्ब ३६ करोड अमेरिकी डलर (त्योबेलाको विनिमयदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा एनसेलको शेयर उसले किनेको थियो । त्यसको साढे सात वर्षपछि आजियाटा खरीद मूल्यको तुलनामा अत्यन्तै कममा शेयर बेचेर नेपालबाट बाहिरिने तयारीमा छ । 

सरकारलाई थाहै नदिई ठूलो निर्णय लिएपछि उसको कदम निकै विवादित बनेको छ । यता शंकास्पद रूपमा एनसेलको शेयर खरीदविक्री भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले पनि नियामक निकायसँग जवाफ मागेको छ । 

यस विषयमा छलफल गर्न समितिको बैठक पनि बोलाइएको छ । समिति सचिव एकराम गिरीका अनुसार बुधवार (आज) दिउँसो २ बजे समितिको बैठक बस्दै छ । ‘शेयर विक्रीबारे प्रारम्भिक छलफल गर्न बैठक डाकिएको छ,’ सचिव गिरीले भने । एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको विदेशी कम्पनीको शेयर विक्रीका क्रममा कानूनी प्रक्रिया मिचिएको वा कर छली भएको हुन सक्ने भन्दै सार्वजनिक लेखा समितिले त्यस विषयमा छलफल गर्न लागेको उनले बताए । एनसेलको शेयर विक्रीको छानबिन नै गर्ने तयारीमा सार्वजनिक लेखा समिति रहेको समिति सभापति ऋषिकेश पोखरेलले बताएका छन् । उनका अनुसार नियामक निकायबाट विवरण मगाएर त्यसमाथि अध्ययन गरिनेछ । यसबारे बैठकले थप निर्णय गर्नेछ ।

यता संयुक्त विद्यार्थी संगठनले एनसेलको पछिल्लो शेयर खरीदविक्री गैरकानूनी रहेको भन्दै यस प्रकरणमा संलग्नमाथि छानबिन गरी कानूनी दायरामा ल्याउन माग गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)