काठमाडौं। नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ । ४० यूपीको मदिरामा एबीभी (अल्कोहलको मात्रा) ३४ दशमलव २३ प्रतिशत हुन्छ । यस्तो उत्पादनको अन्त:शुल्क २५ वा ३० यूपीको तुलनामा निकै नै कम भएकाले पछिल्लो समय यसतर्फ उत्पादकको आकर्षण भएको बताइएको छ । अन्त:शुल्क कम भएकै कारण यो सेगमेन्टको मदिराको मूल्य पनि उपभोक्तामैत्री भएको कम्पनीको दाबी छ ।
यो सेगमेन्टमा बलियो उपस्थिति जनाउने प्रतिबद्धतासहित प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए । ‘नेपाली मदिरा बजारमा ४० यूपी सेगमेन्टमा प्रिमियम मदिराको माग धेरै छ । त्यसैले एकदमै उचित मूल्यमा आफ्ना उपभोक्तालाई कसरी प्रिमियम मदिरा उपलब्ध गराउन सकिन्छ भनेर हामीले बजारको पर्याप्त अध्ययन गरेका छौं,’ लामिछानेले भने, ‘दुई वर्षभन्दा बढी समयसम्म गरिएको अध्ययन र उपभोक्ताको प्रतिक्रियालाई आधार मानेर चाँडै ४० यूपी सेगमेन्टको ह्वीस्की फ्लेभर र रम फ्लेभरको प्रिमियम मदिरा बजारमा ल्याउने घोषणा गर्दछौं ।’ नेपाल डिस्टीलरिजले मुख्य रूपमा २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको बताइएको छ । कम्पनीको पोर्टफोलियोमा आफ्ना उत्कृष्ट उत्पादनहरू खुकुरी रम र न्यूड सुपेरियर भोड्का समावेश रहेको कम्पनीको भनाइ छ ।