ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ : पोहोरको अनुदान नपाएपछि आन्दोलनको तयारीमा किसान

२०८० मंसिर, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं। उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ गरेको सरकारले किसानले पाउनुपर्ने पोहोरको अनुदान बापतको ५२ करोड रुपैयाँ भुक्तानीमा समेत उदासीनता देखाएको छ । समर्थन मूल्यको विषयमा उखु उत्पादक किसान महासंघसँग कुरा नमिलेपछि मूल्य निर्धारणमा ढिलाइ गरेको सरकारले बजेट अभाव देखाउँदै बक्यौता अनुदान भुक्तानी नगरेको हो । अनुदान भुक्तानीमा ढिलाइ गरिरहेको सरकारलाई दबाब दिन किसानले आन्दोलन गर्ने तयारी गरेका छन् । 

समर्थन मूल्य निर्धारणमा ढिलाइ भइरहँदा किसानले सस्तो मूल्यमै उखु विक्री शुरू गरिसकेका छन् । उखु किसान संघर्ष समिति, सर्लाहीका सचिव हरिश्याम रायले सरकारले समर्थन मूल्य तोक्न ढिलो गर्दा कतिपय किसानले गतवर्षकै मूल्यमा उखु विक्री गरिरहेको जानकारी दिए । उनका अनुसार लामो समय उखु खेतमै रहेपछि सुक्न थाल्छ, त्यसबाट उत्पादन र तौल दुवै घट्ने कारणले गर्दा किसान समर्थन मूल्य नपर्खी उखु बेच्न बाध्य भएका हुन् । किसानले सर्लाहीकै इन्दुशंकर, अन्नपूर्ण, महालक्ष्मी र रौतहटका चिनी मिलमा उखु पठाइरहेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समर्थन मूल्य निर्धारणबारे छलफल गर्न आइतवार मन्त्रालयमा बैठक राखे पनि उखु किसानका प्रतिनिधिले मन्त्रालयले प्रस्ताव गरेको मूल्यमा असहमति जनाएपछि मूल्य निर्धारण प्रक्रिया रोकिएको छ । उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गतवर्षको मूल्यमा मन्त्रालयले ११ रुपैयाँ मात्रै थप गर्न सक्ने प्रस्ताव गरेपछि आफूहरूले अस्वीकार गरेको जानकारी दिए । गतवर्ष सरकारले प्रतिक्विन्टल ५ सय ४० र अनुदानबापत ७० जोडेर ६ सय १० रुपैयाँ मूल्य तोकेको थियो । ‘यसपालि सरकारले पोहोरको मूल्यमा ११ रुपैयाँ थप गरेर प्रतिक्विन्टल ६ सय २१ रुपैयाँ मात्रै मूल्य निर्धारण गर्न खोज्यो,’ अध्यक्ष मैनालीले भने, ‘किसानको लागत मात्रै ढुवानीसहित करीब ६ सय रुपैयाँ प्रतिक्विन्टल पर्छ । यस्तो अवस्थामा कसरी सहमति हुन सक्छ ?’

किसानले गतवर्ष उखु विक्रीबापत सरकारबाट पाउनुपर्ने अनुदानको ५२ करोड रुपैयाँ हालसम्म पाएका छैनन् । गतवर्ष किसानले पाउनुपर्ने अनुदान १ अर्ब ३२ करोडमध्ये सरकारले ८० करोड रुपैयाँ मात्रै भुक्तानी गरेको छ । किसानको सबैभन्दा बढी गुनासो बक्यौता रकम नपाएकोमा रहेको मन्त्रालयका प्रवक्ता सबनम सिवाकोटीले बताइन् । उनका अनुसार बजेट अभावका कारण समयमै भुक्तानी पठाउन नसकिएको हो । हालसम्म ९ जिल्लाका उखु किसानले सम्पूर्ण भुक्तानी पाएका छन् । सर्लाही, नवलपरासी र कञ्चनपुरका किसानले अनुदान भुक्तानी पाउन बाँकी छ । बजेट निकासाको लागि पत्र पठाए पनि अर्थ मन्त्रालयले कुनै प्रतिक्रिया नदिएको सिवाकोटीले बताइन् ।

समर्थन मूल्य निर्धारणको विषयमा मन्त्रालयमा किसान प्रतिनिधिसँग बैठक बसे पनि कुरा मिल्न नसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले प्रस्ताव गरेको मूल्य प्रतिक्विन्टल ६ सय २१ रुपैयाँमा किसानले असहमति जनाएपछि मन्त्रालयले यस विषयमा थप छलफल अघि बढाएको उनले बताइन् । यता उखु उत्पादक किसान महासंघले अनुदानबापतको रकम नपाएको भन्दै शुक्रवार किसानसँग बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको छ ।

नेपालमा अहिले १० ओटा उद्योगले चिनी उत्पादन गरिरहेका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकलाई आधार मान्दा नेपालमा प्रतिवर्ष २ लाख २९ हजार ४ सय ५३ टन चिनी खपत हुन्छ । तथ्यांकसम्बन्धी अध्ययन गर्ने अन्तरराष्ट्रिय संस्था ‘हेल्जी लाइब्रेरी’ले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा सन् २०२० सम्म प्रतिव्यक्ति वार्षिक चिनी खपत ७ दशमलव ८६ किलो थियो । उक्त संस्थाले नेपालमा चिनीको उपभोग बढ्दो क्रममा रहेको पनि उल्लेख गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)