वीरगञ्ज । भन्सार विभागले चीनबाट आयात हुने लाइटरमा भन्सार मूल्यांकन ह्वात्तै बढाइदिएको छ । पछिल्लो समय यसको आयात उल्लेख्य परिमाणमा बढेपछि विभागले यसको आयातमा ५० प्रतिशत भन्सार मूल्यांकन बढाएको हो ।
गत शुक्रवार भन्सार विभागले मातहतका भन्सार कार्यालयलाई यससम्बन्धी परिपत्र पठाएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले बताए । यसअघि प्रतिकार्टोन ४० अमेरिकी डलरमा जाँचपास हुँदै आएको लाइटरको भन्सार मूल्यांकन ६० डलर पुर्याइएको छ । यो मूल्यांकन शुक्रवारदेखि नै लागू भएको छ । सो दिन सुक्खा बन्दरगाहबाट जाँचपास भएर लाइटर छुटाएका व्यापारीलाई भन्सारले जरीवानासहितको रकम माग गरेको छ ।
यसअघि भन्सारले मूल्यांकन बढाउने निर्णय गर्दा निर्णय भएको दिनअघि प्रतीतपत्र (एलसी) खुलेका वा सिपमेन्ट भइसकेको मालसामानमा पुरानै व्यवस्था लागू हुने गरेको थियो । यसपटकको निर्णयमा त्यस्तो केही उल्लेख नभएकाले सबैलाई बढेको मूल्यांकन नै लागू हुने प्रमुख मैनालीले बताए ।
आयातकर्ताले यसको विरोध गरेका छन् । एलसी खोलेर सामान नेपाल भित्त्याउन ३ महीनाजति लाग्ने भएकाले यसअघि एलसी खोलिसकेका कन्साइन्मेन्टमा यो व्यवस्था लागू गर्न नहुने उनीहरूको तर्क छ ।
भन्सारले निर्णय भएकै दिनदेखि सबै कन्साइन्मेन्टमा बढेको मूल्यांकन लागू गर्दा आयातकर्ताले जरीवाना तिर्नुपर्ने हुन्छ । भन्सारले आयातकर्ताले पेश गरेको बीलभन्दा बढी हुने रकममा लाग्ने राजस्वमा ५० प्रतिशत जरीवाना लिन्छ ।
पछिल्लो समय यसको आयात उल्लेख्य परिमाणमा बढेपछि विभागले यसको आयातमा ५० प्रतिशत भन्सार मूल्यांकन बढाएको हो ।
यसो गर्दा प्रतिकन्टेनर जरीवानामात्रै ३ लाख रुपैयाँ तिर्नुपर्ने एक आयातकर्ताले बताए । भन्सारले लाइटर आयातमा १५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्यअभिवृद्धि कर लिने गरेको छ । मूल्यांकन बढाउनुअघि नै एलसी खुलिसकेका र बाटोमै रहेका कन्साइन्मेन्टमा पनि जरीवाना तिराउनु आपत्तिजनक भएको एक आयातकर्ताले बताए ।
किन बढ्यो आयात ?
भारतले लाइटर आयातमा प्रतिबन्ध लगाएको छ । विगत ३ महीनायता भारतमा यस्ता लाइटरको माग बढेको मौका छोपेर नेपालका आयातकर्ताले चीनबाट ठूलो परिमाणमा लाइटर मगाएका छन् । गत महीनामात्रै १०० भन्दा बढी कन्टेनर लाइटर भित्रिएको आयातकर्ता बताउँछन् ।
तेस्रो मुलुकबाट भित्रिएको लाइटरको वैध निकासी भने हुँदैन । भारतमा अभावको मौका छोपेर यहाँका व्यापारीले भारतीय बजारमा पुर्याउने गरेका छन् । चालू आर्थिक वर्षका कुनै पनि महीनामा लक्ष्यअनुसार राजस्व उठाउन नसकेको भन्सार विभागले लाइटरको आयात बढेको देखेपछि मूल्यांकन बढाएको हो । ‘हाम्रो खपतभन्दा बढी आएको देखियो । राजस्व पनि लक्ष्यअनुसार नउठेको अवस्थामा मूल्यांकन बढाएर राजस्व असुल्ने उद्देश्य नै हो,’ भन्सार विभागका एक उच्च अधिकारीले भने ।
भन्सारलाई राजस्व नै चाहिएको भए महशुल बढाउनुपर्नेमा मूल्यांकन बढाएर आयातकर्तालाई जरीवानाको भारी बोकाउनु उचित नभएको आयातकर्ताको गुनासो छ । लाइटरको प्रतिकार्टोन मूल्यांकन ६० डलर पुर्याएपछि यसबाट डलर पलायन हुने दाबी पनि आयातकर्ताले गरेका छन् ।