ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा कम्पनीको व्यवसाय घट्दो

२०८० मंसिर, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। आर्थिक गतिविधिमा आएको कमीसँगै बीमा कम्पनीको व्यवसाय निरन्तर घट्न थालेको छ । बैंक, वित्तीय संस्थाको कर्जा प्रवाह, व्यापार व्यवसायका साथै व्यक्तिको आम्दानी समेत घटेपछि बीमा व्यवसायमा असर देखिएको हो । 

नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्ममा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ५७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको कात्तिकसम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल १३ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब ७४ करोड रुपैयाँ मात्र संकलन गरेका छन् । चालू आर्थिक वर्षमै पनि निर्जीवन बीमा कम्पनीको व्यवसाय निरन्तर घटिरहेको छ । चालू आर्थिक वर्षको साउनमा निर्जीवन बीमा कम्पनीहरूले नयाँ बीमालेख विक्री र नवीकरणबाट ३ अर्ब ९८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा कात्तिकमा २ अर्ब २९ करोड रुपैयाँ मात्र संकलन गरेका छन् । 

कात्तिकमा निर्जीवन बीमा कम्पनीहरूले २ लाख १० हजार बीमालेख विक्री गरेका छन् । गत साउनदेखि कात्तिकसम्ममा उनीहरूले ८ लाख ९४ हजार बीमालेख जारी गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस अवधिमा विक्री भएको बीमालेखको संख्या पनि घटेको छ । जीवन बीमा कम्पनीहरूको व्यवसायमा भने सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको कात्तिकसम्ममा जीवन बीमा कम्पनीहरूले बीमालेख विक्री र नवीकरणबाट ४६ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा यसपालि सोही अवधिमा बढाएर ४९ अर्ब ४४ करोड रुपैयाँ पुर्‍याएका छन् । 

चालू आर्थिक वर्षको साउनको तुलनामा भने जीवन बीमा कम्पनीहरूको पनि व्यवसाय घटिरहेको छ । गत साउनमा उनीहरूले नयाँ बीमालेख तथा पुरानो नवीकरणबाट १९ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा कात्तिकमा ८ अर्ब ६३ करोड रुपैयाँमा खुम्चिएको छ । आर्थिक मन्दीसँगै बैंक, वित्तीय संस्थाको कर्जा प्रवाह घट्नुका साथै व्यावसायिक गतिविधि प्रभावित भएपछि बीमा कम्पनीको व्यवसायमा असर परेको हो । बैंकको ऋण लिनका लागि बीमा अनिवार्य भएकाले ऋण लगानी नहुँदा बीमा कम्पनीको व्यवसायमा पनि असर परेको छ । त्यस्तै आर्थिक गतिविधिमा कमी आउँदा सर्वसाधारणको आम्दानी समेत घटिरहेको छ । आम्दानी घटेपछि बीमा गर्नेको संख्या घटेको बताइन्छ । बरु बीमा कम्पनीहरूमा बीमालेख ‘सरेन्डर’ गर्नेको संख्या बढिरहेको देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)