काठमाडौं। बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले बैंकिङ क्षेत्रविरुद्ध भइरहेका अराजक गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई भयरहित रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् ।
केही व्यक्ति/समूहले बैंक तथा वित्तीय संस्थाका कर्मचारीप्रति लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहारले बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको विज्ञप्तिमा उल्लेख छ । कानून आफ्नो हातमा लिई भइरहेका अराजक घटना समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरूलाई उनीहरूले आग्रह गरेका छन् । ‘आफ्ना ग्राहकलाई सेवासुविधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थितिमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीमाथि यस प्रकारको दुव्र्यवहार अत्यन्त निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी भयरहित रूपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीको सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरूसँग माग गर्दछौं ।’ केही दिन अघिमात्र एक वाणिज्य बैंकको बिर्तामोड शाखामा कार्यरत कर्मचारीमाथि भएको धरपकडको घटना सार्वजनिक भएपछि बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूको ध्यानाकर्षण भएको छ । उनीहरूले उक्त घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कारबाहीको माग समेत गरेका छन् ।