विराटनगर। विराटनगरको सातघुम्ती रोडमा बुधवार आगलागी हुँदा जलेर कवाडी सञ्चालक दीपक मण्डल र अर्की एक महिलाको मृत्यु भएको छ । महिलाको पहिचान खुलेको छैन । कवाडी गोदाममा लागेको आगो दमकल र स्थानीय प्रहरीले नियन्त्रणमा लिएका थिए ।
आगलागीमा परेर चार जना गम्भीर घाइते भएका छन् । चारै जनालाई उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको छ । आगलागीको कारणबारे अध्ययन भइरहेको मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार गोदाममा ग्यास वा अन्य कुनै प्रज्ज्वलनशील पदार्थको क्यान कुच्याउँदा आगोले टिपेर घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगलागीमा परेर घाइते हुनेहरूमा विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिंकी कामत र ६० वर्षीया अजिता सरदार रहेको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए । घाइतेमध्ये सुशीला र अजिताको अवस्था गम्भीर रहेको बताइएको छ ।