काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालमा मुद्रास्फीति घट्दो क्रममा रहे पनि अझै उच्च रहेको बताएको छ ।
नेपालको विस्तारित कर्जा सुविधा व्यवस्थाअन्तर्गतको तेस्रो समीक्षापछि आईएमएफको नेपालका लागि कार्यकारी निर्देशकले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
पोस्ट–प्यान्डेमिक रिबाउन्ड र क्रेडिट बूमले उत्प्रेरित गर्दा पनि गत वर्ष नेपालको आर्थिक वृद्धि उल्लेखनीयरूपमा सुस्त भएको उनले बताए । ‘कम घरेलु मागले बाह्य दबाब समाधान गर्न मद्दत गर्याे । तर, सरकारी राजस्व पनि घटायो । खर्च अनुशासनको बावजुद वित्तीय घाटा फराकिलो भयो,’ उनले भने ।
२०२३ नोभेम्बरमा जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका बाबजुद पनि आर्थिक वर्ष २०२३/२४ मा आर्थिक वृद्धिदर ३.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ, जुन सम्भाव्यताभन्दा कम छ ।
‘वित्तीय क्षेत्रले कर्जा संकुचनको सामना गरिरहेको देखिन्छ, धेरै टिकाउ तथा विकास–समर्थक ऋण वृद्धिका लागि आवश्यक संक्रमणलाई सुविधाजनक बनाउन विनियामक तथा पर्यवेक्षी प्रथालाई बलियो बनाउन आवश्यक छ,’ उनले भने ।