ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन, वर्षमा ८ लाखसम्म बचत !

२०८० मंसिर, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

गलकोट (बागलुङ) । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन् । 

बागलुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि रु १० लाख लागतमा बाख्रापालन थालेका थिए । पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वनले  गाउँमै उद्यम गर्ने अठोट मात्रै गरेनन्, विदेशको राम्रो जागिर छाडेर सात वर्षअघि स्वदेश फर्किए । 

जागिरभन्दा उद्यममा सम्भावना देखेका वनले बाख्रा र मौरीपालनबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । भारतमा पुगेर बजारीकरण विषयमा स्नातकोत्तर पास गरेका उनी बजारीकरण क्षेत्रबाटै मलेसियासमेत पुगेका थिए । 

तीन वर्षको मलेसिया बसाइँ छाडेर गाउँमै कृषि गर्ने उद्देश्यले वन नेपाल फर्किएका थिए । सात वर्षअघि मात्रै रु १० लाख लागतमा बाख्रा र मौरीपालन थालेका वन अहिले मनग्य आम्दानी गर्न सफल भएका छन् । 

धर्मराज बाख्रा फार्म र पुष्पा मौरी फार्म गरी दुई वटा नाममा फार्म सञ्चालन गर्दै आएका उनको बाख्रा फार्ममा एक सय ५० बाख्रा, बोका र पाठापाठी  छन् भने ६० वटा मौरीका घार छन् । 

‘बुबा भारतमै हुनुहुन्थ्यो, एसएलसी पासपछि भारत गए, उतै बजारीकरण विषयमा डिग्री हासिल गरे, उतैबाट मलेसिया पुगे,’ वनले भने, ‘मासिक रु तीन लाख आम्दानी हुने जागिर मलेसियामा तीन वर्ष गरे, केही रकम जम्मा गरेर गाउँ फर्कने निधो गरे, सात वर्षअघि पुर्खाले परम्परागतरूपमा गर्दै आएको बाख्रापालन र मौरीपालनलाई व्यावसायीकरण गर्न थाले, अहिले वार्षिक रु १५ लाखसम्मको बाख्रा र मौरीबाट कारोबार गर्छु ।’ 

उनले मौरीपालन र बाख्रा फार्म दर्ता गरेर दुई फार्मको मालिक बन्न सफल भएको जनाउँदै वार्षिक रु ६ देखि आठ लाखसम्म बचत गर्न सफल भएको बताए । पढेलेखेकाभन्दा नपढेकाले मात्रै गर्ने कृषि पेसालाई पढेलेखेकाले अँगाल्दा बढी सफल हुने उनको भनाइ छ । 

उनले पढेलेखेकाले खाने सरकारी जागिरभन्दा मौरीपालन र बाख्रापालनबाट बढी रकम कमाउन थालेको र अन्य युवाले समेत उद्यममा लगानी गर्न आवश्यक रहेको बताए ।  

‘भारतमै ठूलो कम्पनीको मार्केटिङ जनरल म्यानेजर थिए, मलेसिया पुगेर त मासिक रु तीन लाख कमाइ हुने जागिर खाए सात वर्षअघि । तर नेपालमा नै केही गर्न पर्दछ भनेर लागी परे,’ उनले भने, ‘बाख्रापालन व्यवसायभन्दा मौरीपालनबाट धेरै आम्दानी गर्न सकिने अनुभव सँगालेको छु, अहिले बाख्राबाट आफ्नो मेहनतसहित २० देखि ३० प्रतिशत र मौरीपालनबाट ६० प्रतिशत खुद नाफा गर्न सकिने रहेछ ।’ 

हाल पूर्वाधार, खोर, मौरीका घार र बाख्रासहित झण्डै रु ६० लाखको पूँजी जम्मा भएको उनको भनाइ छ । राज्यले अनुदान दिने नीति सुधार्न आवश्यक रहेको जनाउँदै वनले ५० प्रतिशत अनुदानले किसान झनै समस्यामा परेको बताए । 

उनले रु १० लाख लगानी गरेको खोरमा रु पाँच लाख राज्यले दिँदा आफ्नो लगानी उठाउन धेरै समय लागेको जानकारी दिँदै असली किसानलाई शतप्रतिशत अनुदान दिनुपर्ने बताए ।  उनले नेपाल सरकारबाट शून्य ब्याजदरमा रु १५ लाख ऋण ल्याएको जनाउँदै उक्त ऋणले आफूलाई ठूलो राहत पुगेको बताए । अहिले वनको फार्ममा यती सेरेना जातको मौरी छन् भने खरीजात, जमुनापारी, बोयर क्रसजातका बाख्रा छन् । 

उनले मौरीको महलाई प्रतिकिलो रु एक हजार दुई सयमा विक्री गर्दै आएका छन् । उत्पादन भएको मौरी र बोकालाई बजारको अभाव भने नभएको उनले बताए । वनको फार्ममा बाबा, आमा, श्रीमतीले समेत सहयोग गरिरहेका छन् । उनले बाख्रापालनका लागि एक रोपनी जग्गामा स्थानीय घाँस खेती गरेका छन् भने ३० रोपनीमा आधुनिक प्रजातिको घाँसखेती गरेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)