काठमाडौं । बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजी (तरलता) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण जारी गर्न थालेको छ । अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको सीमाभन्दा तल कायम भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन गर्न निक्षेप संकलन बोलकबोल गरेको हो ।
राष्ट्र बैंकले चालू आर्थिक वर्ष (२०८०/८१)मा मङ्सिर ६ गतेदेखि निक्षेप संकलन उपकरण जारी गर्न शुरू गरेको थियो । त्यसयता ६ ओटा बोलकबोलमार्फत बजारबाट ८० अर्ब रुपैयाँ उठाइसकेको छ । यसमध्ये ३५ अर्ब रुपैयाँ परिपक्व भई बजारमै फिर्ता भइसकेको छ । तर, अझै पनि बजारमा अधिक तरलताका कारण अन्तर बैंक ब्याजदर एक प्रतिशतको हाराहारीमै छ । जब कि राष्ट्र बैंकले मौद्रिक नीतिको लक्ष्यमा ब्याजदरको तल्लो सीमा ४ दशमलव ५ प्रतिशत तोकेको छ ।
बिहीबार १४ दिन अवधिको उपकरणमार्फत २५ अर्ब रुपैयाँ बजारबाट उठाएको राष्ट्र बैंकले शुक्रवार पनि १४ दिन अवधिकै २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्दै छ । अधिक तरलता भएपछि बैंक, वित्तीय संस्थाले न्यून ब्याजदरमै नेपाल राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा लगानी गरिरहेका छन् ।
बिहीवारको बोलकबोलमा बैंकहरूले शून्य दशमलव ४९ प्रतिशत र अधिकतम शून्य दशमलव ८३ प्रतिशत ब्याजदर बोलकबोल गरेका थिए । यसैगरी मागभन्दा दोब्बर अर्थात् ४६ अर्ब ७० करोड रुपैयाँका लागि बोलकबोल परेको थियो ।
यसैगरी बुधवार मात्र राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरेको थियो । अधिक तरलताका कारण आठवर्षे अवधिको यो ऋणपत्रको ब्याजदर पनि ६ प्रतिशतमा झरेको छ । ब्याजदर कोरिडोरको माथिल्लो सीमा बैंकदरलाई ७ दशमलव ५ प्रतिशत र तल्लो सीमा निक्षेप संकलन बोलकबोल दर ४ दशमलव ५ प्रतिशत कायम गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्ने व्यवस्था छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्ष (२०८०/८१)मा मङ्सिर ६ गतेदेखि निक्षेप संकलन उपकरण जारी गर्न शुरू गरेको थियो । त्यसयता ६ ओटा बोलकबोलमार्फत बजारबाट ८० अर्ब रुपैयाँ उठाइसकेको छ ।
तर, भदौ २७ गतेयता अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झर्दा पनि राष्ट्र बैंकले बजारबाट तरलता खिचेको थिएन । सरकारले धमाधम आन्तरिक ऋण उठाउन थालेपछि सरकारलाई सहयोग गर्न केन्द्रीय बैंकले मौद्रिक नीतिको घोषणा कार्यान्वयन नै गरेन । सरकारले पनि कार्यातालिका नै परिवर्तन गरी चालू आर्थिक वर्षमा लक्ष्य राखेको आन्तरिक ऋणमध्ये ४० प्रतिशत पहिलो त्रैमासमै उठायो । बैंकहरूले पनि न्यून ब्याजदरमै सरकारी ऋणपत्र र ट्रेजरी बिल्समा लगानी गरे । लक्ष्यभन्दा बढी आन्तरिक ऋण उठाउँदा पनि ब्याजदर लक्ष्य कायम नभएपछि राष्ट्र बैंकले मङ्सिरदेखि भने मौद्रिक उपकरण प्रयोग गर्न थालेको हो । अझै पनि अन्तरबैंक ब्याजदर लक्षित सीमाभन्दा तल नै छ । मंगलवार औसत अन्तरबैंक ब्याजदर १ दशमलव शून्य ३ प्रतिशत कायम रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय रेमिट्यान्स आप्रवाह बढ्दा बैंकहरूको निक्षेपमा सकारात्मक प्रभाव देखिएको छ । निक्षेप वृद्धिसँगै बैंकहरूले ब्याजदर घटाएर भएपछि कर्जा प्रवाहमा जोड दिएका छन् । बैंकहरूसँग तरलता अधिक भएपछि बैंकहरूले निक्षेप र कर्जाको ब्याजदर घटाइरहेका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलवारसम्ममा बैंकहरूमा कुल निक्षेप ५९ खर्ब ७५ अर्ब छ । यस अवधिमा बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव ६१ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधान अनुसार ५ खर्ब ६१ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता छ । तर, पछिल्लो समय आर्थिक गतिविधि शिथिल भएकाले कर्जाको माग नभएको बैंकहरूले बताउँदै आएका छन् ।