काठमाडौं.। सरकारले मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै बजारमा आलु र प्याज पाइन छाडेको छ । पाइहाले पनि महँगो मूल्य तिरेर किन्नुपर्छ । भ्याट लगाएर सरकारले दु:ख दिन खोजेको भन्दै व्यवसायीले आलु, प्याजको आयात र विक्री रोकेपछि बजारमा अभाव चुलिएको हो ।
चार दिनदेखि आलु र प्याज आपूर्ति आंशिक कटौती गरेका व्यवसायीले उनीहरूकै शब्दमा ‘सरकारको अव्यावहारिक निर्णय’का कारण व्यापार गर्न नसकिने भन्दै बुधवारदेखि पूर्ण रूपमा कारोबार नै बन्द गरेका छन् । व्यवसायीले कारोबार बन्द गर्दा त्यसको प्रत्यक्ष असरस्वरुप बजारमा आलु, प्याज पाइन छाडेको सरोकारवालाले बताएका छन् ।
आलु, प्याज आयातनिर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेल अर्थमन्त्रीले आयातित आलु र प्याजमा मात्रै भ्याट लगाउने भनेर झुक्याएको बताउँछन् । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा आलु र प्याजमा भ्याट लगाउने प्रावधान राखेपछि त्यसलाई हटाउन व्यवसायीले अर्थमन्त्रीलाई भेटेर अनुरोध गरेका थिए । त्यही बेला अर्थमन्त्रीले स्वदेशी उत्पादनमा भ्याट नलाग्ने बताएका थिए ।
गजुरेलका अनुसार अहिले सरकारले स्वदेशी किसानसँग किनेको आलु, प्याजबाट समेत भ्याट असुल्न थालेको छ । ‘त्यसैले अबदेखि आलु र प्याजको व्यापार गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेर कारोबार नै ठप्प पारिएको हो,’ उनले आर्थिक अभियानसँग भने, ‘हामीले स्थानीय किसानसँग आलु, प्याज किन्दा भ्याट बिल प्रयोग गरिँदैन तर हामीले बेच्ने बेलामा सरकारले भ्याट बिल खोज्ने गरेको छ । यस्तो हुँदा हाम्रो आम्दानी वास्तविकभन्दा बढी देखिन जान्छ र हामीमाथि आयकरको भार थपिन्छ । उपभोक्ताले पनि बढी मूल्य तिर्नुपर्छ ।’ सरकारले भ्याटका नाममा व्यापारीबाट रकम असुल गरेर लुट मच्चाउन खोजेको संघले आरोप लगाएको छ ।
यसैबीच कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आफ्नो दैनिक मूल्यसूचीबाट आलु र प्याज हटाएको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले भ्याटको समस्याका कारण व्यापारीले अहिले कालीमाटीमा आलु र प्याज ल्याउन छाडेको जानकारी दिए । उनका अनुसार व्यापारीले नल्यायपछि कालीमाटीमा प्याज र आलु पाइन छाडेको हो । यसले गर्दा समितिले मूल्यसूचीबाट ती वस्तु हटाएको हो ।
व्यापारीको हड्तालका कारण ३/४ दिनदेखि कालीमाटीलगायत अन्य ठूला तरकारी बजारमा आलु, प्याज भित्रिन छाडेको छ । कालीमाटीमा मात्रै दैनिक ७० देखि ८० टनसम्म प्याज र करीब १ सय ५० टन आलु भित्रिने गरेको समितिको तथ्यांक छ ।
सरकारले चालू आर्थिक वर्षको आर्थिक ऐनमा आलु र प्याजमा भ्याट लगाउने उल्लेख गरेको छ । बजेट वक्तव्यसँगै आर्थिक विधेयक सार्वजनिक भएपछि व्यवसायीले उक्त कदमको विरोध गरे ।
जवाफमा अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा सम्बोधन गर्दै बाह्य मुलुकबाट आयात भएको आलु र प्याजमा मात्रै भ्याट लाग्ने र आन्तरिक उत्पादनमा नलाग्ने गरी कार्यविधि बनाउने आश्वासन दिएका थिए । अर्थमन्त्रीको आश्वासन पाएर चुप बसेका व्यवसायी सरकारको पछिल्लो कदमका कारण त्रसित भएका हुन् । बजार अनुगमनको जिम्मा पाएका सरकारी निकाय वाणिज्य विभाग र आन्तरिक राजस्व कार्यालयले व्यवसायीसँग भ्याट बिल माग्न थालेपछि आशंकाको पारो अझ माथि पुग्यो ।
आलु, प्याज व्यवसायीले सरकारी नीतिका कारण स्वदेशी किसान र उपभोक्ता दुवै मर्कामा पर्ने बताइरहँदा आन्तरिक राजस्व कार्यालयका महानिर्देशक दीर्घराज मैनालीले त्यसको खण्डन गर्दै सरकार जहिले सुकै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने मनसायमा रहेकोले भ्याटको नियमले कुनै असर नपर्ने बताए । वार्षिक ५० लाखभन्दा माथिको आलु, प्याज कारोबार गर्ने किसान वा व्यापारी सबैलाई यो नियम लागू हुने उनले बताए ।