ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै

२०८० मंसिर, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीर : एआई

गोदावरी (कैलाली)।  पछिल्लो समय सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो ।

सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख रमेन्द्रप्रसाद कुशवाहले बताए । उनका अनुसार सदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको सङ्ख्या पाँच लाख ४२ हजार तीन सय ७३ पुगेको छ । स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सबैभन्दा बढी कैलालीमा २ लाख ८० हजार ९५७ पुगेको छ भने कञ्चनपुरमा ५९ हजार ५२ र अछाममा ५५ हजार ४८३ जनाले स्वास्थ्य बीमा गराएका छन् । यसैगरी बझाङमा ३९ हजार ९७३, बाजुरामा ३४ हजार ५८९, बैतडीमा २३ हजार ८५८, डडेल्धुरामा १९ हजार ९१०, डोटीमा १६ हजार ३५५ र दार्चुलामा १२ हजार १९६ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्यांकले देखाएको छ । 

प्रमुख कुशवाहका अनुसार पुराना बिमितमध्ये करिब ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक रु ३ हजार ५०० प्रिमियम तिर्नुपर्छ भने ५ जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप रु ७०० का दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ ।

बिमित परिवारका सदस्य बिरामी हुँदा १ लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको जनाइएको छ ।

स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघिय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र संघिय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् ।

सरकारले विसं २०७२ बाट देशका ७७ ओटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम शुरू गरेको थियो ।

सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको जनाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)