काठमाडौं। एनसेल कर्मचारी ट्रेड युनियनले एनसेल आजियाटा लिमिटेडमा करीब ८० प्रतिशत स्वामित्व रहेको ‘रेनोल्ड्स होल्डिङ्स’को शेयर खरीद विक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भएका ‘अनर्गल’ प्रचारबाजीप्रति ध्यानाकर्षण भएको बताएको छ ।
कम्पनीको शेयर खरीद विक्री हुनु सामान्य प्रक्रिया रहेको र एनसेल बहुराष्ट्रिय कम्पनी भएको हुँदा राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यास बमोजिम कारोबार गर्नु स्वाभाविक भएको युनियनले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विज्ञप्तिमा शेयर खरीद विक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा सञ्चालनमा कुनै फरक नपरेको उल्लेख छ । एनसेलले नियमित रूपमा कर तिर्दै आएको प्रसंग उल्लेख गर्दै विज्ञप्तिमा कम्पनीले हालसम्म नेपाल सरकारलाई २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तथा शुल्क भुक्तानी गरिसकेको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्दै देशका दूर–दराजसम्म नेटवर्क विस्तार गरी एक करोड साठी लाखभन्दा धेरै जनतालाई दूरसञ्चार सेवा दिएको छ । प्रत्यक्ष अप्रत्यक्ष गरी २५ हजारभन्दा बढी रोजगार सृजना गरेको छ ।’ एनसेल आजियाटाको शेयर खरीद विक्री सम्बन्धमा सरकारले छानबिन समिति गठन गरी सत्यतथ्य छानबिन प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा पनि अनर्गल प्रचार हुनु छानबिन प्रतिवेदनलाई नै प्रभावित पार्ने दुराशयबाट प्रेरित भएको युनियनको आरोप छ ।