ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेंडा

२०८० मंसिर, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेंडा विक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेंडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट विक्री भएपछि बारीमै कुहिन थालेका छन् ।  

गत आर्थिक वर्ष करीब ११ लाख किलो गोलभेंडा उत्पादन गरेर विक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिए । उनका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेंडाले बजार नपाउँदा भने निकै निरास भएका छन् ।

गत वर्ष तीन लाख सत्तरी हजारको गोलभेंडा विक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष रू एक लाखको पनि विक्री नभएको बताए । ‘बीउ, गोडमेल, औषधि लगायतमा करीब रू तीन लाख जति खर्च भएको छ,’ उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो । करीब रू ६ लाख बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ ।’ 

इन्द्रबहादुर पुरीले गत वर्ष तीन सय क्रेट बेच्दा रू दुई लाख १० हजार नाफा भएकामा यस वर्ष पाँच सय क्रेट बेच्दा नाफा हुन नसकेको गुनासो गरे । उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उनको भनाइ थियो ।

गत वर्ष रू दुई लाख २३ हजारको गोलभेंडा बेचेका खिनकुमारी बस्नेतले यस वर्ष झण्डै रू एक लाख घाटा व्योहर्नुपरेको सुनाए । वैदेशिक रोजगारीबाट फर्किएर गोलभेंडा खेतीमा लागेका राजेन्द्र बस्नेतले यस वर्ष ज्याला पनि नउठ्ने जानकारी दिए । 

नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँँग समन्वय गरेर  गोलभेंडाको सश, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिए । उनले यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागिएको बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)