ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पृथ्वी राजमार्गको पश्चिम खण्डको २० किमि सडक ६ लेनको बन्ने

२०८० मंसिर, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८ दशमलव ८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करीब २० किलोमिटर दूरीमा ६ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौंडासम्म ६ लेन सडक हुनेछ । 

सडकको चौडाइ ४६ मिटरका हुने मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए । राजमार्गको पश्चिम खण्डमा १२ वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्भर्ड निर्माण हुनेछ । 

मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा काम भइरहेको छ । पूर्वी खण्डमा ३८ प्रतिशत काम भएको छ भने पश्चिम खण्डमा जम्मा १२ प्रतिशत काम भएको छ । पूर्वी खण्डमा ४१दशमलव४५ किलोमिटर र पश्चिम खण्डमा ३८दशमलव८८ किलोमिटर दूरीमा निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । भित्ता कटिङ्ग, सडक चौडा, वाल, कल्भर्ड र पुल निर्माण लगायत काम पनि भइरहेको छ । 

पश्चिम खण्डमा यस कारण ढिलाइ 

पश्चिम खण्डमा धेरै बजार क्षेत्र परेकाले खानेपानी तथा विद्युत्को पोल र तार हटाउन नसकिएका कारण निर्माण कार्यमा ढिलाइ हुन गएको हो । पूर्वी खण्डभन्दा पश्चिम खण्डमा करीब ६ महीना ढिलो गरी काम शुरु
गरिएको हो । पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा निर्माण कम्पनीले कम जनशक्ति परिचालन गरेका कारणले पनि सोचेअनुरूप प्रगति हुन नसकेको इञ्जिनियर पौड्यालले बताए ।   

उक्त सडक खण्डमा निर्माण हुने चार लेन सडकमध्ये जामुनेबाट कुम्लेखोलासम्म कालोपत्र गर्न लागिएको छ । कालोपत्रका लागि ग्राबेल बिछ्याउन थालिएको छ । करीब ११ किलोमिटर दूरी दुई लेनको भए पनि यस आर्थिक वर्षमै कालोपत्र गर्ने लक्ष्य छ । 

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । विसं २०७८ भदौदेखि काम शुरु गरिएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौतामा उल्लेख छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)