ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विक्री भएन डेरीको घ्यू, कोशीका दुई डेरी उद्योगमा ५० हजार केजी मौज्दात

२०८० मंसिर, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।

झापा । दुग्धजन्य उत्पादन घ्यूको विक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा मौज्दात रहन गएको छ । घ्यू विक्री नभएपछि व्यवसायीहरूले नौनी घ्यू भारत र बङ्गलादेश निकासीको वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् । 

कोशी प्रदेशका दुई ठूला डेरी उद्योग रितिका र एनएमसी डेरी उद्योगले आफ्नो चिस्यान केन्द्रमा रु ५० हजार केजी नौनी घ्यू जम्मा भएको जनाएका छन् । व्यवसायीहरूका अनुसार विगत ९ महीनादेखि घ्यूको विक्री घटेको छ । जसले गर्दा किसानले बेलैमा दुधको भुक्तानी उद्योगबाट पाउन छाडेका छन् भने दूधको मूल्य पनि घटेको छ । 

दूधको विक्रीमा समस्या आएपछि कोशी प्रदेश डेरी एशोसिएशनले प्रदेशभर कच्चा दूधको मूल्यप्रति लिटर रु १० का दरले घटाएको छ । डेरी उद्योगले सातामा कम्तीमा एक दिन ‘मिल्क होलिडे’को माग गरेका छन् । यसको सोझो असर दूध उत्पादन किसानलाई परेको छ ।

‘उत्पादन बढेको बढ्यै छ तर विक्री भने घटेको छ । विक्री घटेपछि यहाँका डेरी उद्योग सङ्कटमा परेका छन्,’ नेपाल डेरी एशोसिएशनका केन्द्रीय उपाध्यक्ष राजन चिमरियाले भने, ‘भारत र बङ्गलादेशमा निकासीको वातावरण बनाइयोस् भनेर हामीले सरकारलाई दबाब दिइरहेका छौं ।’ 

भारत र बङ्गलादेशमा नेपालमा उत्पादित दूध, नौनी घ्यू र छुर्पीको बजार राम्रो भएको जनाउँदै उपाध्यक्ष चिमरियाले सरकारले अनुदान दिएर भए पनि दुग्धजन्य उत्पादनलाई विदेश निकासीको बाटो खोल्नुपर्नेमा जोड दिए ।  

विगतमा भारतमा दुध र छुर्पी निर्यात हुने गरेको थियो । कोशी प्रदेश सरकारबाट घ्यू, पाउडर दूध र छुर्पीको विदेश निकासीका लागि घाटापूर्ति अनुदान दिने प्रतिबद्धता आएको र सो प्रतिबद्धता कार्यान्वयनमा आए डेरी उद्योगको हालको समस्या समाधान हुने उनको भनाइ छ ।

चिमरियाले झापाको मेचीनगर–१२ मा सञ्चालन गरेको रितिका डेरी उद्योगमा मात्रै हाल ३० हजार केजी नौनी घ्यू थुप्रिएको छ । उनको डेरीमा हाल २२ हजार लिटर कच्चा दुध दैनिक खपत हुने गरेको छ । 

सङ्कलित कच्चा दुधलाई प्रशोधन गरेर प्याकेटमा विक्री गरिँदै आइएको छ । दूधबाहेक नौनी र खारेको घ्यू, छुर्पी, पनिर र मिठाइ उत्पादन गरी उद्योगले बजारमा लैजाँदै आएको उनले बताए । 

चिमरिया परिवारले रु २५ करोड लगानी गरेर स्थापना गरेको उक्त उद्योगमा हाल ८६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने गाईपालन गरिरहेका पाँच हजार पाँच सय किसानहरू जोडिएका छन् । उद्योगका साना र ठूला गरी कोशी प्रदेशभर एक हजार पाँच सय विक्री कक्ष छन् ।

विक्री घट्दा किसानहरूलाई दिइने दूधको नियमित भुक्तानीमा समेत असर परेको छ । रितिका डेरीले विगतमा आधा महीनामै किसानको भुक्तानी गर्दै आएकोमा हाल एक महीनादेखि भुक्तानी गर्न सकिरहेको छैन । 
किसानहरूको रु पाँच करोड भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए । 

दैनिक १५ हजार लिटर कच्चा दूध सङ्कलन गर्दै आएको मेचीनगर–८ स्थित एनएमसी डेरी उद्योगमा पनि १५ हजार केजी नौनी घ्यू थुप्रिएको उद्योगले जनाएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित भएकाले किसानको दूधको मूल्य नियमित तोकिएकै समयमा भुक्तानी दिइरहेको उद्योगले जनाएको छ ।

आठ वर्षअघि सहकारीको रु १५ करोड लगानीमा यो डेरी स्थापना भएको थियो । उद्योगमा हाल ६ हजार पाँच किसान जोडिएका छन् । उद्योगले प्रशोधित दूध, दही, नौनी र खारेको घिउ, पनिर, मिठाइलगायत उत्पादन गर्दै आएको छ । ‘उत्पादनहरू विक्री नहुँदा समस्या आउने नै भयो,’ एनएमसी डेरी उद्योगका व्यवस्थापक नवराज अधिकारी भने, ‘घ्यू विक्री बढाउन प्रयास गरिरहेका छौं । विक्री बढ्न थालेको पनि छ ।’ 

हाल यी दुवै उद्योगले घ्यूको विक्री बढाउन मूल्य घटाएका छन् । विगतमा प्रतिकेजी रु नौ सयसम्ममा विक्री भएको नौनी घ्यू अहिले रु सात सय ५० मा विक्री भइरहेको छ । एनएमसी डेरीले हालै प्रतिकेजी रु सात सयका दरले सर्वसाधारणलाई घ्यू विक्री गरेको थियो । 

रितिका डेरी उद्योगले दूध सङ्कलनकर्ता साना व्यवसायीलाई घ्यू दिएर गाउँमा विक्री गर्न पठाउने गरेको छ भने एनएमसी डेरीले ठूलो सङ्ख्यामा रहेका कर्मचारीलाई सहुलियत दरमा घ्यू किन्न प्रोत्साहित गरिरहेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)