ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसेल खरीदविक्री प्रकरण छानबिन समितिले काम थाल्यो

२०८० मंसिर, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सरकारले गठन गरेको एनसेलको शेयर खरीदविक्री अध्ययन तथा छानबिन समितिले काम थालेको छ । संयोजक टंकमणि शर्माका अनुसार समितिले आइतवारदेखि औपचारिक रूपमा काम थालेको हो । मङ्सिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्दै एनसेलको शेयर खरीदविक्री सम्बन्धमा छानबिन गर्दै ३० दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिएको थियो । समितिले नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल गर्नेछ । समितिले सरोकारवाला संघसंस्था, सम्बन्धित विषयका विज्ञसँग आवश्यक छलफल गर्ने संयोजक शर्माको भनाइ छ । समितिले एनसेल शेयर खरीदविक्री सम्बन्धी तथ्यपरक जानकारी भए प्रमाणसहित पठाउन समेत आह्वान गरेको छ । समितिको सचिवालय सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा त्यस्ता प्रमाण पठाउन सकिने शर्माले जानकारी दिएका छन् । 

छानबिन समितिले काम थाल्दै गर्दा त्यसको औचित्यमाथि सत्ताघटकका नेताहरूले नै प्रश्न उठाउन थालेका छन् । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले छानबिन समिति नै जरुरी नरहेको भन्दै एनसेलको शेयर विक्री प्रकरणमा बदमासी भएको दाबी गरेका छन् । उनले आइतवार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा एनसेलको शेयर विक्रीमा बदमासी भएको कुरा छर्लंग रहेको भन्दै यसमा कुनै ‘रकेट साइन्स’ नचाहिने बताए ।

आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर एक साताअघि विक्री गरेको थियो । यस विषयमा छानबिनका लागि सरकारले पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेसँगै उसले काम अघि बढाएको हो ।

सर्वाेच्चमा परेको रिट हेर्न भ्याइएन

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरीदविक्री प्रकरणबारे सर्वोच्चमा परेको रिट आइतवार हेर्न नभ्याइनेमा रह्यो । प्रारम्भिक सुनुवाइका लागि रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको थियो । तर हेर्न नभ्याइने सूचीमा राखियो । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एनसेलको शेयर स्वामित्व खरीदविक्री रोक्न माग गर्दै शुक्रवार सर्वोच्च अदालतमा रिट दिएका थिए । सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभाग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)