ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुक्खायाम लागेसँगै भारतबाट विद्युत् आयात शुरू

२०८० मंसिर, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सुक्खायाम शुरू भएसँगै भारतबाट विद्युत् आयात शुरू गरेको छ । सुक्खायाम लागेसँगै खोला तथा नदीमा पानीको बहाव घटेर देशभित्रका विद्युत्गृहबाट उत्पादन घट्न थालेको छ । आन्तरिक माग बढ्दै जाँदा त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात शुरू गरिएको हो । यस्तै शुक्रवार रातिदेखि विद्युत् निर्यात बन्द हुने प्राधिकरणले बताएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा विद्युत्को अधिकतम माग १ हजार ७०० मेगावाट हाराहारी रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात शुरू गरिएको बताए । ‘अहिले विद्युत् उत्पादन र माग करीब बराबर छ, हाम्रा अर्ध जलाशययुक्त विद्युत्गृहमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक आवरमा चलाइरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने ।

चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढे तापनि यस वर्ष आयातभन्दा निर्यात बढी हुने अवस्था रहेको उनले बताए । ‘आगामी वैशाखको दोस्रो हप्तादेखि विद्युत् निर्यात पुन: शुरू हुनेछ, यस वर्ष करीब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदै छ, त्यसैले अर्को वर्ष २५–३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुनेछ,’ उनले भने । ‘दुई देशबीचको प्रसारण सञ्जाल सुधारका लागि ठूलो क्षमताका लाइन बनिरहेका छन् । देशभित्र पनि जलविद्युत् आयोजनाको निर्माण भइरहेका छन्, आगामी पाँच वर्षभित्र वार्षिक करीब १ खर्ब रुपैयाँको विद्युत् निर्यात हुने अवस्था देखिएको छ ।’ 

गत जेठदेखि मङ्सिरसम्ममा नेपालले १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष गत २८ जेठदेखि भारतीय बजारमा विक्री शुरू गरेको थियो ।

प्राधिकरणले सो अवधिमा दैनिक रूपमा अधिकतम ७०० मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत विक्रीदर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिर २० सम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत विक्रीदर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारत निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि (एनभीभीएन)लाई विक्री गरिरहेको थियो । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा विक्री गरेको थियो । प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५४७ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)