ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अस्ट्रेलियाली र क्यानेडेली डलर अभाव

२०८० मंसिर, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया र क्यानडा जाने विद्यार्थीको संख्या बढेसँगै बजारमा अस्ट्रेलियाली र क्यानेडेली डलरको नगद अभाव भएको छ । विद्यार्थीले विश्वविद्यालयको शुल्क बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्ने भए पनि व्यक्तिगत खर्चका लागि नगद नै सटही गर्ने भएकाले अभाव भएको हो । सर्वसाधारणले नेपाल राष्ट्र बैंकको काउन्टरबाट समेत मागअनुसार सटही सुविधा नपाएको गुनासो गरेका छन् । 

राष्ट्र बैंकले हाल विद्यार्थीलाई भिसा तथा हवाई टिकट निश्चित भएपछि अस्ट्रेलियाली र क्यानेडेली ३ सय डलरसम्म नगदमा सटही सुुविधा उपलब्ध गराउँदै आएको छ । यसभन्दा बढी रकमका लागि भने बैंक, वित्तीय संस्थाले जारी गर्ने अमेरिकी डलरको विद्युतीय कार्डमार्फत सटही गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए । नगद सञ्चितिका कारण विद्यार्थीलाई मागअनुसार सटही सुविधा भने दिन नसकिएको उनले स्वीकार गरे । 

‘अस्ट्रेलिया र क्यानडा जाने विद्यार्थीको संख्या बढेसँगै नगद सटही गर्ने चाप बढेको छ,’ उनले भने, ‘नगदको सञ्चिति कम भएकाले अस्ट्रेलियाली र क्यानेडेली डलर मागेअनुसार दिन सक्ने अवस्था छैन ।’ पछिल्लो समय विद्युतीय भुक्तानीको प्रयोग बढ्दै जाँदा पर्यटकले पनि नगद बोक्न छाडेकाले नगद सञ्चिति कम छ । तर, अन्य माध्यमबाट तोकिएअनुसार सटही सुविधामा भने समस्या नभएको उनले बताए । 

हाल राष्ट्र बैंकले उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘नो अब्जेक्शन लेटर (अनापत्तिको प्रमाणपत्र) का आधारमा सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । विद्यार्थीलाई विश्वविद्यालयको शुल्क भुक्तानी गर्न बिल भौचरका आधारमा सटही सुविधा दिने गरेको छ । यसबाहेक राहदानीबापत २ हजार ५ सय अमेरिकी डलससम्म सटही सुविधा पाउँछन् । 

नगदमै सटही सुविधा खोज्ने प्रवृत्तिले अभाव देखिएको सहायक प्रवक्ता पोखरेलले बताए । ‘अहिले हामीसँग पर्याप्त विदेशी मुद्रा सञ्चिति भएकाले तोकिएअनुसार सटही सुविधा दिन समस्या छैन,’ उनले भने, ‘अमेरिकी डलरको विद्युतीय कार्डभन्दा नगदमै जोड दिएकाले समस्या देखिएको हो ।’ अमेरिकी डलरलाई अस्ट्रेलियाली र क्यानेडेली डलरमा परिवर्तन गर्दा विनिमय दरका कारण केही अन्तर पर्ने भएकाले विद्यार्थीले सकेसम्म नगद नै खोज्ने गरेको उनले बताए । 

विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको संस्था ओली एन्ड एशोसिएट्सका अपरेशन म्यानेजर युवराज कार्की डलर कार्ड बोकेर जान विद्यार्थीले झन्झट मान्ने गरेको बताए । यसैगरी डलर कार्ड स्थानीय मुद्रामा सटही गर्दा महँगो पर्ने भएकाले सकेसम्म नगद नै खोज्ने गरेको उनले अनुभव सुनाए । 

राष्ट्र बैंकको निर्देशनमा विद्यार्थीले अतिरिक्त न्यूनतम २ हजार ५ सय रुपैयाँदेखि अधिकतम ८ हजार अमेरिकी डलरसम्म वार्षिक निर्वाह खर्चसमेत सटही गर्न पाउने व्यवस्था छ । यसअनुसार बंगलादेश र पाकिस्तानका लागि २ हजार ५ सय, चीन, मलेशिया, थाइल्यान्ड र फिलिपिन्सका लागि ४ हजार, सिंगापुर, दक्षिण कोरियाका लागि ६ हजार, क्यानडा, अमेरिका, अस्ट्रेलिया र यूरोपेली मुलुकका लागि ८ हजार तथा अन्य देशका लागि ५ हजार अमेरिकी डलरसम्म वार्षिक सटही सुविधा पाउने व्यवस्था छ । 

कोभिड–१९ महामारी सकिएसँगै उच्च शिक्षा अध्ययन गर्न विदेश जाने नेपालीको संख्या बढिरहेको छ । यसले गर्दा उच्च शिक्षाका लागि नेपालबाट बाहिरिने रकम बढिरहेको छ । 

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ महीनामा मात्र उच्च शिक्षाका लागि ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको असोजसम्ममा उच्च शिक्षाका लागि १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो । गत आवमा मात्र उच्च शिक्षाका लागि १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० हजारभन्दा बढीले नो अब्जेक्शन लेटर लिइसकेका छन् । यसमा बढी क्रमश: अस्ट्रेलिया, क्यानडा, जापान, अमेरिका र बेलायतको लागि जारी भएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । गत आर्थिक वर्षमा एक लाख १० हजारभन्दा बढीले मन्त्रालयबाट नो अब्जेक्शन लेटर लिएका थिए । 

पछिल्लो समय विप्रेषण आप्रवाह वृद्धिसँगै विदेशी मुद्राको सञ्चिति सहज अवस्थामा छ । विदेशी मुद्राको सञ्चिति वृद्धिसँगै नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिबाट विदेश भ्रमणमा जाने नेपालीका लागि राहदानीबापतको सटही सुविधा बढाएर २ हजार ५ सय डलर पुर्‍याएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)