ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जम्मा ९ मिनेट शेयर कारोबार: दुई वर्षपछि बजार बढेर सर्किट ब्रेक, कुल कारोबार ४८ करोड २४ लाख

२०८० मंसिर, २५  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौैं। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि आइतवार शेयरबजारमा उछाल आएको छ । यस दिन सर्किट ब्रेकले पटकपटक कारोबार रोकिँदा धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा हुने किनबेच जम्मा ९ मिनेटमा सीमित भएको छ । 

आइतवार शेयरबजारको तथ्यांकीय मापक नेप्से ६ प्रतिशत बढ्दा नियमित कारोबारका लागि तोकिएको समयअघि नै धितोपत्रको किनबेच बन्द भएको हो । यस दिन नेप्से १११ दशमलव २० विन्दुले बढेर १ हजार ९६३ दशमलव ९८ कायम भएको छ । यस दिनको कारोबार रकम ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँमा सीमित भएको छ । २०७८ साउनमा धितोपत्रको दोस्रो बजार नेप्सेमा एकै दिन २१ अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो । 

करीब २ वर्षअगाडि २०७८ मङ्सिर २८ गते नेप्से परिसूचक ६ दशमलव शून्य १ प्रतिशत बढेर बन्द भएको थियो । त्यसपछि आइतवार ६ प्रतिशतले बजार बढेको हो । 

आइतवार नियमित कारोबार शुरू भएको ५ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि किनबेच स्थगित गरिएको थियो । त्यसपछि ११:२५ मा पुन: शुरू भएको कारोबार २ मिनेटपछि नै बन्द गर्नुपर्‍यो । यसपटक नेप्सेको वृद्धिदर ५ प्रतिशतमा उक्लेकाले कारोबारमा सर्किट (रोक) लागेको हो । दोस्रोपटक ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि १२ : ०७ बजे शुरू भएको कारोबार फेरि पनि नेप्से १ प्रतिशत विन्दुले बढेपछि १२ : ०९ बजे दिनभिरका लागि बन्द भयो । यस दिन जम्मा ९ मिनेट कारोबार भएको देखिन्छ । उक्त अवधिको नियमित कारोबारमा २४४ धितोपत्रको १३ लाख ६७ हजार ६१५ कित्ता किनबेच भयो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीति लिएपछिको पहिलो कारोबार दिन शेयरबजार ह्वात्तै बढेको छ । विज्ञहरुले यसलाई मौद्रिक नीतिको समीक्षासँग जोडेर हेरेका छन् । शुक्रवार मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ । 

यसले लगानीकर्ताको मनोबल बढाएको ठानिएको छ । तर, यो अनुमान सही ठहरिन आगामी दिनमा पनि शेयर बजारले सकारात्मक गति लिनुपर्ने जानकार बताउँछन् । 

राष्ट्र बैंकले नीतिगत दरहरू पनि घटाएको छ । यसले बैंक कर्जाको ब्याजदर घटाउन मद्दत गर्ने ठानिएको छ । नीतिगत दर घटाउँदा बैंकहरूलाई ब्याजदर अझ घटाउन सहज हुन्छ । आइतवार नै केही बैंकले सूचना प्रकाशित गरेर ब्याजदर घटाएको जानकारी दिएका छन् । मुद्दती निक्षेपको ब्याजदर यसअघि नै ७ प्रतिशतसम्म झरिसकेको छ । 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढीको शेयर धितोकर्जाको जोखिमभार घटाएर १२५ प्रतिशत कायम गरेकाले आइतवार शेयर सूचक ह्वात्तै बढेको बताउँछन् । 

‘त्यसो त ब्याजदर पनि घट्दो छ, राष्ट्र बैंकले आफ्नो टुल्स प्रयोग गरेर ब्याजदर घटाउन सहयोग गरेको छ,’ उनले भने, ‘फलस्वरूप आज दुईओटा बैंकले निक्षेपमा ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका छन् । यसले बजारमा सकारात्मक प्रभाव पार्‍यो ।’ 

अर्का लगानीकर्ता रोहन कार्की राष्ट्र बैंकले विगतमा अप्ठ्यारो अवस्थामा शेयरबजारलाई कस्ने नीति ल्याउँदा बजार ओरालो लागेको र अहिले ऊ लचिलो हुँदा लगानीकर्तामा विश्वास बढेको बताउँछन् । 

‘आगामी दिनमा ब्याजदर घट्छ भने लगानीकर्ताको अड्कल र मौद्रिक नीतिको समीक्षामार्फत शेयर धितो कर्जाको जोखिमभार १५० बाट १२५ प्रतिशत कायम गर्दा सकारात्मक सन्देश प्रवाह भयो । लघुवित्त वित्तीय संस्थालाई पनि राष्ट्र बैंक सकारात्मक सन्देश दिएको छ । यी कारण नै बजार बढेको हो ।’

के हो सर्किट ब्रेक ? 

नयाँ लगानीकर्ताका लागि सर्किट ब्रेक लागेर कारोबार रोकिएको घटना नौलो लाग्न सक्छ । नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीको शेयर मूल्य तथा समग्र बजारको अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सर्किट ब्रेक लगाउने गर्छ । 

कुनै कम्पनीको शेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको तुलनामा १० प्रतिशतभन्दा बढी तलमाथि हुन सक्दैन । त्यही १० प्रतिशत भित्र रहेर कारोबार गर्न पाइन्छ । त्यस्तै शेयरबजारको परिसूचक नेप्से पनि कारोबार शुरू भएको पहिलो १ घण्टामा ४ प्रतिशतले परिवर्तन भएमा २० मिनेटका लागि सर्किट ब्रेक लगाएर कारोबार रोकिन्छ । पुन: कारोबार खुलेपछि परिसूचक १ प्रतिशत विन्दुले परिवर्तन भई समग्र घटबढ ५ प्रतिशत पुगेमा दोस्रोपटक सर्किट ब्रेक लाग्छ र कारोबार स्थगित हुन्छ ।

दोस्रो सर्किट ब्रेकमा ४० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि खुलेको बजारमा समग्र परिसूचक ६ प्रतिशतले परिवर्तन हुने गरी तलमाथि भएमा त्यस दिनको बाँकी कारोबार नै स्थगित हुन्छ । आइतवार यही भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)