काठमाडौं। सामाजिक सुरक्षा कोष (सासु कोष)ले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ७१ ओटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ७१ अस्पतालसँग सम्झौता गरिएको बताइएको छ ।
सम्झौता भएका अस्पतालअन्तर्गत अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा लाभग्राहीले लागेको शुल्कको २० प्रतिशत मात्र बुझाए पुग्ने कोषले बताएको छ ।
सम्झौता भएका अस्पतालअन्तर्गत अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा लाभग्राहीले लागेको शुल्कको २० प्रतिशत मात्र बुझाए पुग्ने कोषले बताएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी गर्नु नपर्ने कोषले स्पष्ट पारेको छ । नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १५, मधेश प्रदेशका १२, बागमती प्रदेशका २८, गण्डकी प्रदेशका आठ र लुम्बिनी प्रदेशका आठओटा अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सक्ने कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘२०७९ फागुन १ यता देशभरका विभिन्न स्थानका अस्पतालसँग अनलाइन सम्झौता भएका छन्, जसमध्ये हालसम्म ७१ अस्पतालबाट औषधि उपचार सेवा लिँदा कोषबाटै भुक्तानी हुनेछ,’ कोषको विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाहेकका स्थानमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर लागत रकम दाबी गर्नुपर्ने हुन्छ ।’ आगामी दिनमा अस्पतालको आबद्धता संख्यात्मक र सेवासुविधा गुणात्मक रूपमा बढाउँदै लैजाने प्रतिबद्धता कोषले व्यक्त गरेको छ ।