ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय निर्यात प्रतिबन्धले प्याज बजार प्रभावित : सरकारसँग छैन उत्पादन बढाउने योजना

२०८० मंसिर, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं। करीब ३ महीनाअघि डिसेम्बरसम्मका लागि प्याज निकासीमा ४० प्रतिशत कर लगाएको भारतले गत बिहीवारदेखि सन् २०२४ मार्च ३१ सम्मका लागि यसको निर्यातमा प्रतिबन्ध नै लगाएको छ । 

भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै स्वदेशी बजारमा प्याजको अभाव चुलिनुका साथै मूल्य आकाशिएको छ । हरेक वर्ष भारतको निर्यात प्रतिबन्धको सिकार बन्ने नेपालको सरकारसँग प्याज उत्पादन बढाउने कुनै ठोस योजना नभएको पाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सबनम शिवाकोटीले अघिल्लो वर्ष मन्त्रालयले आत्मनिर्भर वृद्धि कार्यक्रममार्फत प्याजको उत्पादन बढाउने उद्देश्यले केही योजना अघि सारे पनि त्यसले निरन्तरता पाउन नसकेको स्वीकार गरिन् । 

बढी मात्रामा आयात हुने प्याज लगायत अदुवा, अलैंची, बेसार जस्ता वस्तुको उत्पादन बढाउन मन्त्रालय लागिपरे पनि सबैमा सफल नभएको उनले बताइन् । ‘प्राथमिकताअनुसारको बजेटभन्दा पनि बजेटअनुसार प्राथमिकता तोकेर योजना अघि बढाउनुपर्दा सबै कार्यक्रमलाई एकैचोटि सम्बोधन गर्न सम्भव नभएको हो,’ उनले भनिन् ।

केही वर्षयता भारतले पटकपटक प्याज, गहुँ, चिनीजस्ता मुख्य कृषि उपजको निकासीमा विभिन्न बहानामा प्रतिबन्ध लगाउँदै आएको छ । भारतीय प्रतिबन्धका कारण नेपालका सर्वसाधारणले चरम अभावदेखि महँगीको मारसम्म खेप्नु परिरहेको छ । 

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले गत बिहीवार सूचना जारी गर्दै प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै देशकै ठूलो तरकारी बजार रहेको कालीमाटीमा यसको आयात स्वाट्टै घटेको छ ।

सामान्य अवस्थामा कालीमाटीमा दैनिक ७० देखि ८० मेट्रिक टन प्याज भित्रिने गरेकोमा आइतवार ३४ र सोमवार ३३ मेट्रिक टन मात्रै भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार अहिलेसम्म बाटोमा रहेका गाडीले प्याज ल्याइरहेका छन् । अबको केही दिनपछि त्यो पनि बन्द हुन सक्छ । बजारमा अभाव भएपछि कालीमाटीमा प्याजको थोक मूल्य प्रतिकिलो १ सय ४५ रुपैयाँसम्म पर्न थालेको छ । खुद्रा बजारमा भने १ सय ९० रुपैयाँ किलो घटीमा प्याज पाइँदैन । नेपालमा तराईदेखि पहाडका विभिन्न जिल्लामा प्याज उत्पादन हुन्छ । 

भान्सामा उल्लेख्य मात्रामा प्रयोग हुने प्याज उत्पादन बढाउनेतर्फ सरकारले खासै ध्यान दिन नसकेको प्याज आयातको तथ्यांकले पुष्टि गर्छ । प्याज नेपालमै प्रशस्त मात्रामा उत्पादन गर्न सकिने बाली हो तर पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा यसको उत्पादन हुने क्षेत्रफल घट्दै गएको देखिन्छ ।

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालमा २ लाख ८८ हजार मेट्रिक टन प्याज उत्पादन भएको थियो । त्यस वर्ष स्वदेशी माग धान्न १ लाख ६ हजार टन आयात भएको छ । केन्द्रले उपलब्ध गराएको तथ्यांकले नेपालमा प्याजखेतीको क्षेत्रफल क्रमश: घट्दै गएको देखाउँछ । 

मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रले प्याज लगायत केही मुख्य बाली नेपालमै उत्पादन गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै पनि सरकारी कमजोरीकै कारण वर्षौंदेखि तिनमा परनिर्भर हुनुपरेको स्वीकार गरे । उनले तत्कालका लागि मन्त्रालयसँग प्याजको उत्पादन वृद्धि गर्ने कुनै ठोस योजना नरहेको पनि बताए । 

‘मन्त्रालयमार्फत विगतमा लागू भएको प्याज मिसन कार्यक्रम असफल भएपछि हामीले यसको उत्पादन बढाउन कुनै ठूला योजना ल्याउन सकेका छैनौं । यद्यपि स्थानीय, प्रदेश र संघीय तीनओटै सरकारको सहकार्यमा केही कार्यक्रम ल्याउन छलफल चलिरहेको छ,’ उनले भने, ‘कृषि उत्पादन बढाउन स्थानीय तहको सबैभन्दा ठूलो भूमिका रहन्छ । तर, राष्ट्रिय प्राथमिकताका योजना स्थानीय तहसम्म पुर्‍याउने कार्यमा हामी यो ५ वर्ष असफल नै रह्यौं । अबका दिनमा यसबाट पाठ सिकेर अघि बढ्नुपर्छ ।’ 

मुलुकलाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले आर्थिक वर्ष (आव) २०६४/६५ मा ५० करोड रुपैयाँ लगानीमा झापा, सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रुपन्देहीलगायत जिल्लामा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । 

तर, उत्पादन सामग्री खरीद र वितरणमा भएको अनियमितताका कारण उक्त कार्यक्रम सफल हुन सकेन । त्यसपछि पनि आव २०७६/७७ देखि ४ वर्षसम्म संघ मातहत रहने गरी आलु र प्याज मिसन कार्यक्रम सञ्चालन गर्ने योजना ल्याइयो । उक्त योजना पनि कागजमै सीमित हुन पुग्यो ।

इसापूर्व ५००० तिर मध्यएशियाका इरान, अफगानिस्तान, पाकिस्तान क्षेत्र वरपर प्याजको उत्पत्ति भएको मानिन्छ । यसको खेती करीब २ हजार वर्षअघि हालको इजिप्टबाट शुरू भएको तथ्य भेटिएका छन् । त्यसबेला मिश्रको पिरामिड बनाउने मिस्त्रीहरूले प्याज खाने गरेको बताइन्छ । नेपालमा प्याजखेती कहिले शुरू भयो भन्ने विषयमा यकीन तथ्यांक छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)