जनकपुरधाम। मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया र प्रदेशका आठ जिल्लाका प्रहरी कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्ममा ७७ हजार सवारीसाधनलाई कारबाही गरेका छन् । उक्त कारबाहीबाट रू. ६ करोडभन्दा बढी जरीवाना असुल गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
चालू आर्थिक वर्षको चार महीनामा मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय, मातहतको पथलैया ट्राफिक प्रहरी कार्यालयले राजमार्ग क्षेत्रमा ७ हजार ६७७ सवारीसाधनलाई कारबाही गर्दा रू. ८४ लाख ६९ हजार जरीवाना असुल गरेको छ । त्यसैगरी सप्तरी ट्राफिक कार्यालयले ९ हजार ६५ सवारीसाधनलाई कारबाही गर्दा रू. ५९ लाख ६७ हजार ५ सय, सिराहामा ८ हजार १६६ सवारीसाधनको कारबाहीबाट रू. ६० लाख ९६ हजार र धनुषामा १० हजार २८ सवारीसाधनको कारबाहीबाट रू. ७१ लाख ६९ हजार जरीवाना संकलन भएको छ । यसैगरी महोत्तरी ट्राफिक प्रहरीले ८ हजार ७४८ सवारीसाधनलाई कारबाही गर्दा रू. ७३ लाख ८२ हजार, सर्लाहीमा ९ हजार ४९८ सवारीसाधनको कारबाहीबाट रू. ७६ लाख ७८ हजार र रौतहटमा ७ हजार ७४८ सवारीसाधनको कारबाहीबाट रू. ५८ लाख ११ हजार राजस्व संकलन भएको छ ।