काठमाडौं। अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।
एमच्यामको वार्षिक साधारणसभाले मेटलाइफ नेपालको प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सातसदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका अशिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सन्राइज बैंकका मनीष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राजभण्डारी निर्वाचित भएका छन् ।
संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन संस्थाको सञ्चालक समितिले आगामी बैठकबाट गर्ने बताइएको छ । एमच्यामका संस्थापक अध्यक्ष अजितविक्रम शाहको योगदानलाई सम्मान गर्दै उनलाई संस्थापक अध्यक्षको रूपमा बोर्डको मानार्थ सदस्यमा राखिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी, अभिनव ल च्याम्बर्सका सेमन्त दाहाल मानार्थ सदस्यको रूपमा कार्यसमितिमा रहने बताइएको छ ।