काठमाडौं। ई–कमर्श प्लेटफर्म दराजले संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूमा आधारित रहेर यस वर्ष समुदायमा आधारित विभिन्न उत्थानशील योजना सम्पन्न गरेको बताएको छ । रणनीतिक रूपमा युवा तथा महिलालाई उद्यमशीलतातर्फ उत्प्रेरित गर्दै समावेशी र दिगो भविष्य निर्माणमा सहयोग गरेको कम्पनीको भनाइ छ ।
दराजले ‘लाइफ प्रोजेक्ट फर युथ’ र ‘उद्देश्य गल्र्स इन स्टिम’ जस्ता संस्थासँगको सहकार्यमा प्राविधिक ज्ञान, रोजगारी र उद्यमशीलता प्रवर्द्धन गरेको जानकारी दिएको छ । कार्बन उत्सर्जनको न्यूनीकरणमा सघाउन ‘डोको रिसाइक्लर्स’सँगको सहकार्यमा प्याकेजिङमा प्रयोग हुने प्लास्टिक रिसाइकल गरेर पाइप बनाइँदै आएको दराजले बताएको छ । यसबाहेक दराजले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राखेको छ । यसअन्तर्गत २ ट्रक र ७५ बाइक गरी कुल ७७ विद्युतीय सवारीसाधनलाई डेलिभरीमा प्रयोग गरिँदै आएको बताइएको छ ।