ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुइने ठूलोखोला आयोजनाको मुख्य सुरुङ छिचोलियो

२०८० मंसिर, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी। उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणाधीन २१ दशमलव ३ मेगावाट क्षमताको कुइने ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ । इनलेट र आउटलेट गरी दुई ठाउँबाट निर्माण थालेको आयोजनाले करीब २० महीनामा २ हजार ७०० मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)को ‘ब्रेक थू्र’ गरेको हो ।

संयुक्त ऊर्जा लिमिटेड प्रवद्र्धक रहेको यस आयोजनाको सुरुङ निर्माण २०७८ मङ्सिरदेखि शुरू भएको थियो, जुन गत शनिवार दुवै तर्फबाट जोडिएको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिए । उनका अनुसार हिमाली क्षेत्र, प्राकृतिक प्रकोपलगायत कारण आयोजनामा करीब २० महीना मात्रै नियमित रूपमा काम भएको छ । ‘आयोजनाको सबैभन्दा कठिन मानिने टनेल दुवै तर्फबाट जोड्ने काम सकिएको छ,’ उनले भने, ‘बाधस्थल र विद्युत्गृह निर्माण समेत धमाधम भइरहेको छ ।’

७० प्रतिशत निर्माण सम्पन्न भएको यो आयोजना आगामी ८ महीनाभित्र सम्पन्न गरेर विद्युत् उत्पादन थालिने हमालले बताए । रघुगंगा नदीस्थित फेदीखोलामा आयोजनाको मुहान रहेको छ । त्यहाँबाट ल्याइने पानी छरीस्थित रघुगंगा नदीको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ६०० मिटर पेनस्टक टनेल रहनेछ । ४९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने १०० मिटर भर्टिकल पेनस्टक टनेलमध्ये ५० मिटर खन्न बाँकी छ ।

यो आयोजनामा अहिले २२५ कामदारले नियमित रूपमा काम गर्दै आएका छन् । गैरआवासीय नेपाली र नेपालीको ३० प्रतिशत लगानी रहेको उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण लगानी छ । नेपाल बैंक लिमिटेडको नेतृत्वमा लक्ष्मी सन्राइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले आयोजनामा लगानी गरेका छन् । गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्‍याएपछि आयोजनाको निर्माण केही पछि धकेलिएको हो । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मेसिनरी उपकरण परिचालन गरेर आयोजनाको कामलाई गति दिएको छ ।

आयोजनाको निर्माण सम्पन्न गर्न करीब ३ अर्ब ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रणालीमा जोड्न २३ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुँदै छ ।

म्याग्दीमा हालसम्म ३५३ मेगावाट क्षमताका ११ ओटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । विद्युत् विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका चारओटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् । जिल्लामा ७०० मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् । कुल ३४६ मेगावाट क्षमताका ६ ओटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । त्यस्तै ८३ दशमलव ५ मेगावाट क्षमताका तीनओटा आयोजनाले निर्माणको अनुमति मागेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)