ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्याउमा आत्मनिर्भर हुने लक्ष्य अधुरै : मूल्य अभिवृद्धिकर लागेपछि एक किलोमा ५० रुपैयाँ मूल्यवृद्धि

२०८० मंसिर, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर। सरकारले स्याउमा आत्मनिर्भर कार्यक्रम घोषणा गरेको १२ वर्ष बितेको छ । स्याउ आयात निरुत्साहित गर्दै यसमा मुलुकलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम घोषणा भएको थियो । तैपनि स्याउ आयात नगरेर स्वदेशी आवश्यकता नधानिने अवस्था छ । परनिर्भरताको कारण सिजनमा पनि नेपाली उपभोक्ताले एक किलो स्याउमा ५० रुपैयाँ बढी मूल्य तिर्नुपरेको छ ।

नेपालमा भारत, चीन, इन्डोनेशिया, टर्की र अमेरिकाबाट समेत स्याउको आपूर्ति हुने गरेको छ । नेपालमा वार्षिक ७ अर्ब रुपैयाँको ७० देखि ८० हजार मेट्रिक टन स्याउ आयात हुन्छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकले आर्थिक वर्ष (आव) २०७८/७९ मा १३ हजार ८१३ हेक्टरमा गरिएको खेतीबाट ५२ हजार ७५३ मेट्रिक टन स्याउ स्वदेशमा उत्पादन भएको उल्लेख छ । यो आयातको झन्डै आधा मात्र हो । अघिल्ला आवमा खेतीको क्षेत्रफल र उत्पादन अझ कम छ । 

स्वदेशी उत्पादनले घरेलु माग धान्न नसकेको अवस्थामा आयात निरुत्साहित गर्न सरकारले आयातित स्याउमा मूल्य अभिवृद्धिकर थपिदिँदा आयातसमेत घट्न थालेको छ । यसले मूल्यवृद्धि र स्याउको अभाव हुने देखिएको अर्थशास्त्रका प्राध्यापक डा. वेदप्रसाद आचार्य बताउँछन् । स्याउमा आत्मनिर्भर हुने कार्यक्रम निष्प्रभावी देखिएकाले सरकारले अहिले नै आयात निरुत्साहन हुने गरी कार्यक्रम ल्याउन नहुने तर्क डा. आचार्यको छ । 

पछिल्लो समय भारत र तेस्रो मुलुकबाट स्याउ आयात घट्न थालेको भन्सार विभागको तथ्यांकले देखाएको छ । आव २०७७/७८ मा सबैभन्दा बढी स्याउ चीनबाट आयात भएको थियो । त्यस वर्ष चीनबाट ७० हजार ७९९ मेट्रिक टन र भारतबाट १८ हजार १८८ मेट्रिक टन स्याउ भित्रिएको देखिन्छ । त्यस्तै इन्डोनेशियाबाट १ दशमलव ८, टर्कीबाट ९ दशमलव ९ र अमेरिकाबाट ५८ दशमलव ४ मेट्रिक टन स्याउ नेपाल भित्रिएको देखिन्छ ।

आव २०७७/७८ मा ८९ हजार ५८ टन स्याउ आयात भएको थियो । आव २०७८/७९ मा भने स्याउ आयात अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ । उक्त वर्ष ८६ हजार ७९६ टन स्याउ आयात भएको देखिन्छ । आव २०७९/८० मा पनि स्याउ आयात घट्यो । त्यस वर्ष ८३ हजार २७४ टन स्याउ विदेशबाट आएको थियो । 

विराटनगर नाकाबाट आयात हुने स्याउको परिमाण पनि घट्दै गएको देखिन्छ । आव २०७८/७९ मा ५ हजार ३६ टन स्याउ आयात भएकोमा २०७९/८० मा घटेर ३ हजार ३ सय २८ मेट्रिक टनमा सीमित भएको विराटनगर भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । 

उक्त कार्यालयका सूचना अधिकृत अंकित शर्माका अनुसार आर्थिक मन्दी र सरकारले भ्याट लागू गरेपछि स्याउ आयात घटेको हो । तेस्रो मुलुकबाट स्याउ आयात गर्दा १० प्रतिशत भन्सार महशुल, १३ प्रतिशत मूल्य अभिवृद्धिकर र १ दशमलव ५ प्रतिशत अग्रिम आयकर गरी २४ दशमलव ५ प्रतिशत कर लाग्छ । भारतबाट स्याउ आयात गर्दा ९ प्रतिशत कृषि सुधार शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धिकर र १ दशमलव ५ प्रतिशत अग्रिम आयकर गरी २३ दशमलव ५ प्रतिशत कर लाग्छ । सरकारले साउनदेखि मूल्य अभिवृद्धिकर लागू गरेपछि आयातमा कमी आउन थालेको उनले बताए ।

स्याउ आयातकर्ता न्यू जगदम्बा फ्रुट सेन्टरका सञ्चालक विजय साहले पहिले सबै खाले कर १५ प्रतिशत तिरेर स्याउ आयात हुन्थ्यो । अहिले सरकारले यसको मूल्यांकन बढाएको र करसमेत २७ प्रतिशत पुर्‍याएको कारण किलोमै ३० देखि ५० रुपैयाँसम्मले मूल्यवृद्धि भएको उनले बताए । 

सरकारले चीनलगायत तेस्रो मुलुकबाट आयात हुने स्याउको भन्सार मूल्यांकन बढाएकाले उपभोक्ताले स्याउलाई बढी मूल्य तिर्नु परेको छ । पहिले चीनलगायत मुलुकबाट आउने स्याउ प्रतिकिलो १० सेन्टको दरमा मूल्यांकन गरेर जाँचपास हुन्थ्यो अहिले फुजी स्याउको ८० सेन्ट र अन्यको ६० सेन्ट भन्सार मूल्यांकन छ । भारतबाट आयत हुने स्याउको मूल्यांकन किलोको ५० रुपैयाँ छ ।

स्याउमा भ्याट लागेपछि अघिल्लो वर्षभन्दा यसपालि दशैंतिहारमा यसको भाउ महँगिएर पहिलेजस्तो विक्री नभएको लक्ष्मी फ्रुट्सका नगेन्द्रप्रसाद दासले बताए । पहिले दशैंतिहारमा कोशी प्रदेशमा मात्रै ५ करोडको स्याउ विक्री हुने गरेकोमा यो वर्ष २ करोडको मात्रै विक्री भएको उनले जानकारी दिए । स्याउ विक्री नहुनुमा आर्थिक मन्दी मात्रै नभएर मूल्य अभिवृद्धिकर र भन्सार मूल्यांकनको पनि हात रहेको उनले बताए । बालबालिका वृद्धवृद्धा र बिरामीले खाने फलफूलमा विलासी वस्तुमा झैं भ्याट लगाउन नहुने उनले बताए । 

यसले व्यापारीलाई भन्दा बढी आम उपभोक्तालाई असर गरेको कोशी फ्रुट सेन्टरका अजय गुप्ताको भनाइ छ । सरकारले तत्काल स्याउमा लगाएको मूल्य अभिवृद्धिकर फिर्ता लिनुपर्ने उनले बताए । नयाँ स्याउ भारतमा साउनदेखि र चीनमा आसोजदेखि बजारमा आउँछ । तैपनि चीनले वर्षैभरि स्याउ निर्यात गर्छ । 

फितलो आत्मनिर्भर कार्यक्रम

प्रत्येक वर्ष अर्बाैंको स्याउ आयात हुन थालेपछि सरकारले २०६८ सालमा स्याउमा आत्मनिर्भर बन्न कार्यक्रम शुरू गर्‍यो । तर, आयात रोकिने गरी आत्मनिर्भर कार्यक्रम सञ्चालन भएन । 

आत्मनिर्भर कार्यक्रम सञ्चालन भएको १ दशक नाघिसक्दा पनि स्याउको कुल उत्पादन र खेती गरिने क्षेत्रफल अपेक्षाकृत बढ्न सकेको छैन । सरकारले उच्च हिमाली आठ जिल्लालाई स्याउको पकेट क्षेत्र घोषणा गरेको थियो । कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोटसहित रुकुम, मनाङ र मुस्ताङमा स्याउखेती विस्तारका लागि विशेष कार्यक्रम शुरू गरेको हो ।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार यो १० वर्षमा २ हजार हेक्टर क्षेत्रफलमा मात्र स्याउखेती विस्तार भएको छ । कार्यक्रम सञ्चालन गरेको वर्ष नेपालमा १० हजार ३ सय हेक्टरको खेतीबाट ४२ हजार ७०४ मेट्रिक टन उत्पादन भएको थियो । आव २०७८/७९ मा आइपुग्दा १३ हजार ८१३ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार भई ५२ हजार ७५३ मेट्रिक टन उत्पादन भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)