ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अभियान टिप्स : साइबर सुरक्षामा सोसल इञ्जिनीयरिङको खतरा : जोगिन यसो गरौं

२०८० मंसिर, २८  
सूचना प्रविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। पछिल्लो समय साइबर आक्रमणकारीले उच्च ओहोदाका व्यक्ति, सेलिब्रेटी लगायतका सामाजिक सञ्जाल एकाउन्ट (सोसल ह्यान्डल) ह्याक गरी दु:ख दिने काम गरिरहेका छन् । कमजोर साइबर सुरक्षा तथा असावधानीका कारण यस्ता घटना हुने गरेको पाइएको छ । उनीहरूले आफ्नै सहकर्मीका सोसल ह्यान्डल ह्याक गरी तनाव दिने गरेका छन् । त्यस्तै प्रलोभनमा परेर आफ्नो व्यक्तिगत विवरण दिँदा समस्या भोग्नुपरेका घटना पनि धेरै छन् ।

यसरी प्रविधिको प्रयोग गरेर डिजिटल माध्यमबाट डेटा चोरी गर्नुलाई सोसल इञ्जिनीयरिङ भन्ने गरिन्छ । मनोवैज्ञानिक प्रभावमा मानिसको विश्वास जित्न सफल भई सोझासाझा व्यक्तिलाई ठगी गर्ने, डेटा चोर्ने तथा बेच्ने, संस्थाको मानप्रतिष्ठा तथा वित्तमा क्षति पुर्‍याउनेजस्ता कार्य सोसल इञ्जिनीयरिङ हो । यो एक प्रकारको साइबर हमला हो, जसमा साइबर आक्रमणकारीले मनोवैज्ञानिक रूपमा प्रभाव पारेर वा मानिससँग भएको आफ्नो सम्बन्धको समेत गलत प्रयोग गरेर समेत आक्रमण गर्ने गर्दछन् ।

आक्रमणकारीले पासवर्ड, बैंकको खाता, खाता नम्बर तथा पिनकोड प्राप्त गर्ने प्रयास गर्छन् र प्राय: सफल पनि हुन्छन् । सामान्यतया ह्याक गर्ने तरीका पत्ता लगाउनभन्दा मानिसको आकर्षण/झुकाव आफूतिर तानेर उसको विश्वास जित्न सजिलो हुने हुँदा आक्रमणकारीले सोसल इञ्जिनीयरिङको प्रयोग गर्छन् ।

लोभ्याउने खालको सन्देश, संगीत, चलचित्रहरू सित्तैमा डाउनलोड गर्न दिने र सोही समयमा कम्प्युटरमा गोप्य रूपमा मालिसियस सफ्टवेयर स्थापना गरी कम्प्युटर प्रयोगकर्तासम्म पहुँच बनाउने गर्छन् । त्यसपछि कम्प्युटरलाई नियन्त्रण गर्छन् । साइबर आक्रमणकारीले इन्टरनेट प्रयोगकर्तालाई झुक्याएर पासवर्ड हात पार्छन् । डर, धम्की देखाई बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न लगाउने जस्ता प्रयास गर्छन् र सोझासीधा व्यक्तिलाई फसाउन सफल पनि हुन्छन् । साइबर आक्रमणकारीले इमेल पठाउने, असली जस्तै देखिने नक्कली वेबसाइटको प्रयोग गर्ने, सन्देश पठाउने र फोनकल समेत गर्छन् । नेपाल दूरसञ्चार प्राधिकरणको साइबर सेक्युरिटी टास्क फोर्सका अनुसार इमेल (फिसिङ इमेल), टेलिफोन/मोबाइल वार्ता (भिसिङ), पेनड्राइभ, वेबसाइट, भौतिक पहुँच लगायत माध्यमबाट सोसल इञ्जिनीयरिङ हुने गरेको छ । 

जोखिने उपायहरू

  •  शंकास्पद इमेलको रिप्लाई तथा रेस्पोन्स नगर्ने, इमेलको शंकास्पद एट्याचमेन्ट भएका लिंक नखोल्ने, इमेल पठाउने ठेगाना तथा इमेलको एम्बेडेड लिंकको आधिकारिकता पहिचान गर्ने ।
  •  फोनबाट संवेदनशील जानकारी सकेसम्म आदानप्रदान नगर्ने । उपहार/चिठ्ठा बहानामा फोन गर्नेलाई आफ्नो व्यक्तिगत विवरण नदिने । कलर आईडी, टेक्स म्यासेज आईडीमाथि शंका लागेमा विश्वसनीयता एकीन गर्ने ।
  •  पेनड्राइभमा भाइरस कि–लगर्स, स्टर्जन, र्‍यान्सनवेयर जस्ता मालिसियस सफ्टवेयर राखेर हमला गर्न सक्ने भएकाले भाइरस स्क्यान गरेर मात्र प्रयोग गर्ने । संवेदनशील सर्भरका उपकरणमा सकेसम्म पेनड्राइभको प्रयोग नगर्ने । 
  •  भेट्टाइएका पेनड्राइभ आफ्नो कम्प्युटरमा प्रयोग नगर्ने, पेनड्राइभको फाइल नखोल्ने । आधिकारिक वेबसाइटको पहिचान गरेर मात्र आफ्नो व्यक्तिगत विवरण प्रदान गर्ने, क्य्राक/पाइरेटेड सफ्टवेयर प्रयोग नगर्ने ।
  •  असुरक्षित वेबसाइटको प्रयोग नगर्ने । सित्तैमा विभिन्न अफर, जस्तै– फिल्म, गीतसंगीत, भिडियो, सफ्टवेयर, पुस्तक आदि उपलब्ध गराउने असुरक्षित वेबसाइट प्रयोग नगर्ने ।
  •  कार्यस्थलको कम्प्युटर पासवर्ड लक गरेर राख्ने, कुनै पनि व्यक्तिलाई पहुँच दिनुअघि उसको सही पहिचान गर्ने, सुरक्षाको उचित व्यवस्थापन गर्ने ।
  •  काम नलाग्ने विद्युतीय उपकरणमा पनि संवेदनशील विवरण हुन सक्ने भएकाले उक्त सामग्री जथाभावी डिस्पोज नगर्ने, संवेदनशील विवरण अन्यत्र सुरक्षित साथ राखेर (आवश्यक पर्ने भए) वा नष्ट गरेर मात्र डिस्पोज गर्ने ।
  •  म्याद सकिएका इलेक्ट्रोनिक कार्ड (जस्तै, आईडी कार्ड, एटीएम कार्ड लगायत) डिस्पोज गर्नुअघि उक्त कार्डबाट कुनै पनि विवरण निकाल्न नमिल्ने गरी डिस्पोज गर्ने ।
  •  काम नलाग्ने हार्डडिस्क, पेनड्राइभ, मेमोरी स्टिक तथा यूएसबी फ्ल्यास ड्राइभहरूमा रहेको इलेक्ट्रोनिक डेटा नष्ट गरेर मात्र डिस्पोज गर्ने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)