काठमाडौं। नेपालको पर्यटन दिगो प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले एसियाली विकास बैंक (एडिबी)ले रू. १६ अर्ब ६० करोड बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । जीवनयापन सुधार परियोजना कार्यान्वयनमा उक्त सहायता परिचालन गरिनेछ ।
रूपन्देहीका देवदह, लुम्बिनी सांस्कृतिक, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका र कास्कीको पोखरा महानगरपालिकामा पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्र सबल बनाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले बिहीवार स्वीकृत गरेको हो ।
बैंकको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोपप्रतिरोधी शहर निर्माण गरी नेपालको स्थानीय अर्थतन्त्र सुदृढ बनाउने र दिगो आर्थिक विकास गर्ने नेपाल सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको हो । उक्त वित्तीय प्याकेजअन्तर्गत रू. ६० करोड अनुदान सहायता हो । शहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित नगरपालिकाले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नेछन् ।