ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ सिमेन्ट उद्योगलाई निकासीमा अवरोध

२०८० मंसिर, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । घरेलु मागभन्दा उत्पादन क्षमता धेरै रहेकै बेला सरकारले निकासीमा नगद अनुदान दिन थालेपछि सिमेन्ट उद्योगीले आफ्नो उत्पादनका लागि छिमेकी मुलुक भारतमा बजार खोज्न थालेका छन् । भारतीय बजारमा निकासीको बाटो खुलेयता नेपाली सिमेन्ट र क्लिंकर (सिमेन्टको कच्चा पदार्थ) निर्यात निरन्तर बढिरहेको छ । यही बेला भारतले नेपाली सिमेन्ट उद्योगलाई गुणस्तर प्रमाणपत्र दिन रोक्दा नयाँ उद्योगले निकासीको बाटो पाएका छैनन् ।

नेपालबाट अर्घाखाँची, पाल्पा, बालाजी, सिजी सिमेन्टले भारतमा सिमेन्ट र क्लिंकर निकासी गरिरहेका छन् । नेपालका सिमेन्ट उद्योगहरूले आफ्ना उत्पादन भारत निकासी गर्न भारतीय गुणस्तर चिह्न ‘आईएसआई’ प्रमाणपत्र लिनुपर्छ । आईएसआई नपाएका उद्योगले भारतमा सिमेन्ट निर्यात गर्न पाउँदैनन् । तर, भारतले नयाँ उद्योगलाई आईएसआई दिन ढिलाइ गरिरहेको सम्बद्ध व्यवसायीले जानकारी दिए । 

प्युठान ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको शुभश्री अग्नि सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक ताराप्रसाद पोखरेलले आफूहरूले सिमेन्ट निकासीको तयारी गरेको तर आईएसआई प्राप्त नहुँदा निकासी गर्न नसकेको जानकारी दिए । 

नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्षसमेत रहेका पोखरेलले भारतमा सिमेन्ट निकासी गर्न भारतीय स्ट्यान्डर्ड सर्टिफिकेट लिनुपर्नेमा भारतले १ महीनादेखि उक्त प्रमाणपत्र जारी नगरेको बताए । यसले गर्दा नयाँ उद्योगका लागि निर्यातको ढोका बन्द छ ।

संघका अनुसार नेपालका विभिन्न उद्योगले सिमेन्ट निकासी गरिरहेका छन् । भारत निकासीको तयारीमा रहेका १० ओटा जति उद्योगले आवेदन दिए पनि भारतबाट सुपरभिजन र गुणस्तर परीक्षण गर्ने काम स्थलगत रूपमा हुन नसकेको उनको भनाइ छ ।

सिमेन्ट तथा क्लिंकर निकासीका लागि उद्योगले आवेदन दिएपछि भारतीय अधिकारी नेपाल आएर सुपरभिजन गर्ने र गुणस्तर परीक्षण गर्छन् । त्यसपछि आईएसआई प्राप्त हुन्छ । तर, अहिले भारतको सम्बद्ध निकायका अधिकारीले भारत सरकारले सुपरभिजन नगर्ने प्रतिक्रिया दिएको पोखरेलले बताए । 

एक जना सिमेन्ट उद्योगीले १ महीनादेखि आईएसआई रोकिएको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस विषयमा शीघ्र पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछिको पुनर्निर्माण चरणदेखि सिमेन्टको माग बढ्न थालेको थियो । अर्बाैं रुपैयाँको सिमेन्ट आयात गर्नुपर्ने अवस्थाका बीच सिमेन्ट उत्पादकहरूले स्वदेशी माग धान्न र भविष्यमा भारत निकासी गर्न सकिने भन्दै यो उद्योगमा लगानी थपेका थिए । 

पछि यो उद्योगमा विदेशी लगानी पनि भित्रियो । जसले गर्दा आन्तरिक बजारको मागभन्दा बढी उत्पादन क्षमता पुगेपछि व्यवसायीले स्थानीय बजारबाहेक छिमेकी देश भारतका विभिन्न प्रदेशमा सिमेन्ट निर्यात गर्न शुरू गरेका छन् । 

सरकारले सिमेन्ट निर्यातलाई प्रोत्साहन गर्न निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ । यसले गर्दा व्यवसायीहरू निर्यातमा आकर्षित छन् । यद्यपि आईएसआई लगायतका विभिन्न कुरा 

समयमै व्यवस्थापन हुन नसक्दा हतोत्साहित हुने अवस्था आउने हो कि भन्ने उनीहरूको चिन्ता छ ।

भन्सार विभागका अनुसार गत साउनदेखि कात्तिकसम्ममा १ अर्ब १६ करोड ४४ लाख २० हजार रुपैयाँको सिमेन्ट निर्यात भएको छ । सिमेन्ट उत्पादनको कच्चा पदार्थ सिमेन्ट क्लिंकर साउनदेखि कात्तिकसम्ममा 

१ अर्ब ४७ करोड २८ लाख ८६ हजार रुपैयाँको निकासी भएको छ । 

नेपालबाट चालू आर्थिक वर्षको पहिलो ४ महीनामा २ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । मुलुक आत्मनिर्भर भइसकेको सिमेन्ट र क्लिंकर दुवैको निकासी परिमाण र मूल्य बढ्दै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)