ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा घरजग्गा कारोबार घट्दो : राजस्व संकलनमा ह्रास

२०८० पुस, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन। चितवनमा घरजग्गाको कारोबारमा सुधार आउन सकेको छैन । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिर अन्तिमसम्ममा घरजग्गाको मासिक कारोबार हेर्दा ओरालो लाग्दै गएको देखिएको छ । मालपोत कार्यालय, भरतपुरका सूचना अधिकारी रामप्रसाद खनालले साढे तीन वर्षदेखि (कोभिड–१९)पछि घरजग्गा कारोबार बढ्न नसकेको बताए ।

‘कोभिडपछि आर्थिक मन्दी पनि भयो, त्यसको गम्भीर असर घरजग्गामा पनि पर्‍यो,’ उनले भने । नेपालमा अन्य व्यवसायमा पनि मन्दी र विदेशमा रहेका अधिकांश नेपालीले घरजग्गा कारोबारमा कम लगानी गर्दा पनि यस्तो समस्या आएको उनको भनाइ छ ।

घरजग्गाको कारोबार नबढ्दा स्थानीय तहको राजस्व संकलनमा ह्रास आएको उनले बताए । उनका अनुसार मालपोत कार्यालयमा संकलन भएको राजस्वको पूँजीगत लाभकरबाहेक ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेशमा जान्छ । पूँजीगत लाभकर भने संघीय सरकारको राजस्वको खातामा जान्छ । घरजग्गा कारोबार नबढ्दा राजस्व संकलन पनि घट्छ, जसको प्रत्यक्ष असर स्थानीय तहलाई पर्छ ।

गतवर्षको अन्तिमतिर मात्र भरतपुर महानगरपालिकाले जग्गाको कित्ताकाट खोलेको थियो । कित्ताकाट खोलेपछि घरजग्गाको कारोबार बढ्छ भन्ने अपेक्षा गरिए पनि कारोबारमा भने सुधार आउन सकेन । भरतपुर मालपोत कार्यालयका अनुसार जग्गाको कित्ताकाट खुला गरेको पनि १० महीना पूरा भइसक्यो । तर घरजग्गाको कारोबार बढ्न सकेको छैन ।

भरतपुरमा मात्र होइन, खैरहनी मालपोत, माडी मालपोत र चनौली मालपोतले पनि घरजग्गाको कारोबार सुस्त रहेको बताएका छन् । मालपोत कार्यालय, भरतपुरका अनुसार यस आर्थिक वर्षको पहिलो महीना साउनमा घरजग्गा कारोबारबाट एकमुष्ट ८ करोड ६३ लाख ३९ हजार ९३९ रुपैयाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको साउनमा ८ करोड ३२ लाख ३१ हजार २३५ रुपैयाँ राजस्व संकलन भएको थियो ।

‘घरजग्गाको कारोबारमा कुनै उत्साह छैन, साढे तीन वर्षदेखिको अवस्था उस्तै छ, बढ्न सकेको छैन,’ मालपोत कार्यालय भरतपुरका वरिष्ठ अधिकृत सुमनकुमार झाले भने, ‘गत आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जस्तो अवस्था थियो, अहिले पनि उस्तै छ । सुधार हुनै सकेको छैन । तत्काल सुधारको सम्भावना पनि छैन ।’

यस आर्थिक वर्षको भदौमा भरतपुर मालपोतले घरजग्गा कारोबारबाट एकमुष्ट ९ करोड ६३ लाख ४३ हजार ५४६ रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै असोजमा ९ करोड ९७ लाख ८९ हजार ४२३ रुपैयाँ राजस्व संकलन भएको देखिन्छ ।

यसैगरी कात्तिकमा घरजग्गा कारोबारबाट एकमुष्ट ५ करोड ६ लाख ५९ हजार ५७४ रुपैयाँ मात्र राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ । मङ्सिर २५ गतेसम्ममा ५ करोड ६ लाख ५९ हजार ५७४ रुपैयाँ राजस्व संकलन भएको झाले बताए ।

उनले भने, ‘कोरोनाको कहरअघि पाँच दिनमा संकलन हुने राजस्व अहिले एक महीनामा पनि हुन सकेको छैन ।’ भरतपुर महानगरपालिकाले गतवर्षको भदौदेखि आंशिक र माघदेखि पूरा कित्ताकाट खुला गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)