ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओरालो लाग्दै बैंकको ब्याजदर 

२०८० पुस, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । वित्तीय प्रणालीमा तरलता (लगानीयोग्य पूँजी) बढेसँगै बैंकको ब्याजदर घट्दो क्रममा देखिएको छ । विप्रेषण आप्रवाहमा वृद्धि र आर्थिक गतिविधि चलायमान भएसँगै बैंकमा निक्षेप बढिरहेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह हुन नसक्दा बैंकहरूमा तरलता थुप्रिएको छ । 

बैंक, वित्तीय संस्थाहरूले पुस महीनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । पुसका लागि प्रभु र सानिमा बैंकले निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । बाँकी वाणिज्य बैंकहरूले घटाएका छन् । 

गत शुक्रवार चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको पहिलो समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले नीतिगत दरहरू घटाएको थियो । राष्ट्र बैंकले नीतिगत दरहरू परिवर्तन गरेसँगै बैंकहरूले गत शनिवारबाटै ब्याजदर घटाउन थालेका थिए । मौद्रिक नीतिको समीक्षामार्फत बैंकदरलाई ७ दशमलव ५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ५ दशमलव ५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४ दशमलव ५ प्रतिशतबाट घटाई ३ प्रतिशत कायम गरिएको छ । तरलता धेरै भइरहेका बेला राष्ट्र बैंकले नीतिगत दरहरू घटाएपछि बैंकहरूलाई ब्याजदर घटाउन सहज भएको हो । 

पुसका लागि वाािणज्य बैंकहरूमध्ये सबैभन्दा बढी प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसबाहेक १८ ओटा बैंकको भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ । सबैभन्दा कम एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । 

प्रभु र सानिमाबाहेक बाँकी वाणिज्य बैंकहरूले पुसका लागि प्रकाशित गरेको ब्याजदर मङ्सिरको तुलनामा कम छ । 

बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जा पनि सस्तो हुने देखिएको छ । निक्षेपको ब्याजदरसँगै आधारदर कम भई कर्जाको ब्याजदर क्रमश: घट्दै जाने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । 

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूसँग ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार गर्ने क्षमता छ । तर, कर्जा विस्तार नहुँदा बैंकमा तरलता थुप्रिएको छ । अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले लगातार तरलता प्रशोचन गरिरहेको छ । 

राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो मासिक प्रतिवेदनमा पनि बैंकको ब्याजदर घट्दै गएको औंल्याएको छ । २०७९ कात्तिकमा ९१ दिने ट्रेजरी बिल्सको औसत ब्याजदर १० दशमलव ८८ प्रतिशत रहेकोमा २०८० कात्तिकमा ४ दशमलव ३९ प्रतिशत कायम भएको छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधारदर ९ दशमलव ७४ प्रतिशत, विकास बैंकहरूको १२ प्रतिशत र वित्त कम्पनीहरूको १३ दशमलव ३३ प्रतिशत कामय भएको छ । अघिल्लो वर्षको कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधारदर १० दशमलव ६० प्रतिशत रहेको थियो । 

यसैगरी २०८० कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ७ दशमलव ७६ प्रतिशत, विकास बैंकहरूको ९ दशमलव ११ प्रतिशत र वित्त कम्पनीहरूको १० दशमलव शून्य २ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको यही अवधिमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ८ दशमलव ३२ प्रतिशत थियो । कर्जाको औसत ब्याजदर २०८० कात्तिकमा वाणिज्य बैंकहरूको ११ दशमलव ९६ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ७० प्रतिशत र वित्त कम्पनीहरूको १४ दशमलव ४८ प्रतिशत कायम भएको छ । २०७९ कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२ दशमलव ६५ प्रतिशत थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)