ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाइटरको मूल्यांकन बढाउनुको कारण माग

२०८० पुस, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज। उच्च अदालत पाटनले भन्सार विभागलाई चीनबाट आयात हुने लाइटरको मूल्यांकन बढाउनुको कारण सोधेको छ । विभागले उक्त वस्तुको मूल्यांकन बढाएपछि व्यवसायीले उक्त निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए । 

विभागको निर्णयविरुद्ध परमादेश माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले शुक्रवार पहिलो सुनुवाइ गर्दै भन्सार विभागलाई कारण देखाउन आदेश दिएको हो । अदालतले विभागलाई मूल्यांकन बढाउनुपर्ने कारण १५ दिनभित्र पेश गर्न भनेको छ । 

आयातकर्ताले मागेको अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयको टुंगोमा पुग्न अदालतले दुवै पक्षलाई आगामी पुस ५ गते उपस्थित हुन आदेश दिएको छ । भन्सारले गैरकानूनी तरीकाले मूल्यांकन बढाएको भन्दै आयातकर्ता गौरव मोरले भन्सार विभाग र महानिर्देशक शोभाकान्त पौडेललाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए ।

भारतले लाइटर आयातमा प्रतिबन्ध लगाएको मौका छोपेर व्यापारीले ठूलो परिमाणमा लाइटर आयात गरेका थिए । नेपाल भित्रिएको लाइटर आन्तरिक खपतका लागि नभएर अवैध रूपमा भारत निकासी हुने भन्दै विभागले गत मङ्सिर १५ गते ५० प्रतिशत मूल्यांकन बढाएको थियो । 

प्रतिकार्टोन ४० अमेरिकी डलर रहेको लाइटरको मूल्य ६० डलर बनाइएपछि आयातकर्ता विरोधमा उत्रिएका थिए । वीरगञ्ज उद्योग वाणिज्य संघले पनि पत्रकार सम्मेलन गरेर राजस्व उठाउनकै लागि भन्सारले आयातकर्तामाथि ज्यादती गरेको आरोप लगाएको थियो ।

मूल्यांकन बढाएपछि वीरगञ्जको सुक्खा बन्दरगाह भन्सारमा ३५ कन्टेनर लाइटर रोकिएको आयातकर्ताले बताएका छन् । बढेको मूल्यमा आयातकर्ताले जाँचपास गराउन नमानेपछि ती कन्टेनर रोकिएका हुन् । करीब त्यति नै संख्याका कन्टेनर बाटोमा रहेको अनुमान उनीहरूको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)