ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यापारी र उद्योगीले बैंक चलाउँदा आर्थिक संकट : डा. कोइराला

२०८० पुस, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्योगी व्यापारीले बैंक चलाउँदा अहिले आर्थिक संकट गहिरिएको बताएका छन् । विश्वका कुनै पनि विकसित मुलुकमा व्यापारी र उद्योगीले बैंक खोल्न नपाउने उनको भनाइ छ ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापारी र उद्योगीले बैंक सञ्चालन गर्न नहुने बताए । ‘विश्वका विकसित मुलुकमा उद्योगी र व्यापारीले बैंक खोल्न नपाउने नियम छ, नेपालमा भने उद्योगी र व्यापारीले बैंक खोल्न पाउने भएकाले अहिलेको आर्थिक संकट गहिरिएको हो,’ डा. कोइरालाले भने । 

बैंकहरूले अहिले लगानीयोग्य रकमको अभाव नरहेको बताए पनि गरीबहरूले १० लाख ऋण लिन जाँदा नदिने तर त्यही बैंकले एक अर्ब रुपैयाँ ऋण लिन जानेलाई तत्काल दिने गरेको उनले बताए । बैंकहरूले समेत गरीब र धनीबीचमा विभेद गर्ने गरेकाले गरीबको जीवनस्तर माथि उठ्न नसकेको डा. कोइरालाको भनाइ छ ।

पूँजीगत बजेट खर्च गर्न नसकेर विकास निर्माणका काम प्रभावित भइरहेको अहिलेको अवस्थामा सरकारले चालू खर्च पनि ऋण काढेर गरिरहेको बताए । सरकारले कर्मचारीलाई तलब खुवाउन पनि एसियाली विकास बैंक र विश्व बैंकसँग ऋण लिएको उनले बताए । 

बैंकहरूले अहिले लगानीयोग्य रकमको अभाव नरहेको बताए पनि गरीबहरूले १० लाख ऋण लिन जाँदा नदिने तर त्यही बैंकले एक अर्ब रुपैयाँ ऋण लिन जानेलाई तत्काल दिने गरेकोउनले बताए । 

कोइरालाले विस्तारै सबै ठिक हुदै जान्छ भनेर सरकारमा बस्नेले भने पनि यो सरकार परिवर्तन नभएसम्म केही कुरा ठिक नहुने बताए । उनले आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य कुनै पनि क्षेत्रमा सुशासन कायम हुन नसकेकाले अहिलेको सरकारको नेतृत्व परिवर्तनपछि कुशल नेतृत्वले मात्र मुलुकमा स्थायित्व दिने उल्लेख गरे । 

भ्रष्टाचारीलाई कारबाहीको सट्टा भ्रष्टाचार छोप्न अर्काे ठूलो भ्रष्टाचार सरकारले गरिरहेको आरोप कोइरालाले लगाए । उनले सुनकाण्ड र ललिता निवास प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न पनि गरे । भर्खरै सार्वजनिक भएको एनसेल प्रकरणमा सबैको मिलिभगत रहेको भन्दै नेता कोइरालाले सरकार, कर्मचारी, व्यापारी मिलेर यो प्रकरण भएको तर अब अन्तिममा नाम भने केही व्यापारीको मात्रै आउने र अरु सबै चोखिने काम हुने बताए । 

मुलुकभरका ६ लाख ७७ हजार सटरमध्ये ४० प्रतिशत मात्र खुला रहेको बाँकी बन्द भएको उनले बताए । ‘यो एउटा उदाहरणले पनि मुलुकको आर्थिक अवस्था कस्तो छ र तल्लो वर्ग कसरी प्रताडित भएको छ भन्ने बुझ्न सकिन्छ, यो एउटा इन्डिकेटर हो,’ कोइरालाले भने । अघिल्लो वर्ष उच्च शिक्षाका लागि १ खर्ब २७ अर्ब बाहिरिएको भन्दै उनले मुलुकभित्रका विश्वविद्यालय र कलेजहरूले के गरिरहेका छन् भनेर प्रश्न गरे । 

आर्थिक अवस्था खस्कँदै गएको कारण ग्रामीण क्षेत्रका गृहिणीले एकथरीमात्र तरकारी पकाउन थालेको भन्दै केही दिनपछि दालको सट्टा त्यही एउटा तरकारीमा झोल हालेर भात खानुपर्ने अवस्था आउने उनले बताए । नेतालाई भ्रष्टाचार गर्दा पनि उन्मुक्ति मिलेसम्म मुलुक आर्थिक रूपमा सबल नबन्ने नेता कोइरालाले बताए । 

मुलुक बनाउने सोच भएको नेतृत्वले मात्रै गर्न सक्ने भन्दै उनले कृषि उत्पादन बढाएर त्यसमा आधारित उद्योग स्थापनापछि देशको विकास हुँदै जाने बताए । आत्मनिर्भर नभई मुलुकको अर्थतन्त्र सही दिशामा नजाने उनको कथन छ । 

कार्यक्रममा ५१ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८० भागिरथी श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झाले प्राप्त गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)