काठमाडौं । बैंक, वित्तीय संस्थाहरूसँग अहिले करीब ६ खर्ब रुपैयाँ थप कर्जा विस्तार गर्ने क्षमता रहेको छ । विप्रेषण आप्रवाह र आर्थिक गतिविधिमा देखिएको वृद्धिसँगै निक्षेप बढेपछि बैंकहरूमा अधिक तरलता देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक, वित्तीय संस्थाहरूको कुल निक्षेप ६० खर्ब रुपैयाँ नाघेको छ । तर, निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार नहुँदा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) भने घटेको छ । गत बिहीवारसम्ममा बैंक, वित्तीय संस्थाले ६० खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षमा बैंकहरूमा २ खर्ब ३२ अर्ब निक्षेप थपिँदा कर्जा भने १ खर्ब १४ अर्ब रुपैयाँले मात्र बढेको छ ।
निक्षेप बढेपछि बैंकहरूको सीडी रेसियो पनि ८० दशमलव ३६ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधान अनुसार अहिले ५ खर्ब ७८ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता छ ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव ४ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । यसैगरी यस अवधिमा अवधिमा भ्रमण आय पनि ४७ दशमलव २ प्रतिशतले वृद्धि भई २५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । सरकारको खर्च पनि वृद्धि हुँदा बैंकको निक्षेप वृद्धिमा सकारात्मक प्रभाव देखिएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा प्रवाह बढाउन नीतिगत दरहरू घटाइसकेको छ । चालू आवमा कर्जा प्रवाह ११ दशमलव ५ प्रतिशतसम्मले बढ्ने प्रक्षेपण गरिएकोमा २०८० असोज मसान्तमा ४ दशमलव ८ प्रतिशतले मात्र वृद्धि भएको छ । निक्षेपको वृद्धि सन्तोषजनक रहनुका साथै ब्याजदर घट्दो क्रममा रहेकाले चालू आर्थिक वर्षको अन्त्यसम्ममा कर्जा विस्तारमा सुधार हुने राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा उल्लेख गरेको छ । राष्ट्र बैंकले नीतिगत दरहरू घटाएसँगै बैंक, वित्तीय संस्थाहरूले पनि निक्षेपको ब्याजदर घटाउँदै कर्जा बढाउन जोड दिएका छन् । अधिक तरलता भएपछि अन्तरबैंकलगायत अल्पकालीन ब्याजदर पनि न्यून विन्दुमा झरेका छन् । बिहीवार अन्तरबैंक कारोबारको ब्याजदर २ दशमलव ६२ प्रतिशत कायम भएको छ ।
अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले मङ्सिर पहिलो सातादेखि नै निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । आइतवारसम्म राष्ट्र बैंकले १० पटक निक्षेप संकलन उपकरण जारी गर्दै बजारबाट १ खर्ब ३७ अर्ब २५ करोड उठाइसकेको छ । त्यसमध्ये ७५ अर्ब भने परिपक्व भई पुन: बजारमा फिर्ता भइसकेको छ ।
आइतवार १० अर्ब रुपैयाँ निक्षेप संकलनको आवेदन खुला गरेकोमा बैंकहरूले २८ अर्बका लागि बोलकबोल गरेका थिए । त्यसमा न्यूनतम २ दशमलव २२ र अधिकतम २ दशमलव ८८ प्रतिशत ब्याजदर बोलकबोल भएको थियो । यसअघि बैंकहरूले १ प्रतिशतभन्दा कममा निक्षेप दिन बोलकबोल गरेका थिए ।