ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमेन्टको मूल्य प्रतिबोरा रू. १०० बढ्यो : ‘कार्टेलिङ’ रोक्न निर्माण व्यवसायीको आग्रह

२०८० पुस, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पूर्वाधार निर्माणको सिजनमा सिमेन्ट उद्योगहरूले अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी)को मूल्य प्रतिबोरा १०० रुपैयाँ बढाएका छन् । सिमेन्ट उद्योगले मूल्य बढाउने निर्णय गरेसँगै नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

सिमेन्ट उद्योगीहरूले ‘कार्टेलिङ’ गरेर मूल्य बढाएको भन्दै महासंघले त्यसप्रति आपत्ति जनाएको छ । निर्माणका काम गर्ने बेला सिमेन्ट उद्योगहरूले सधैंजसो मूल्य बढाउने गरेको महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले भने, ‘प्रतिबोरा ४०० रुपैयाँ फ्याक्ट्री मूल्य तिरेर सिमेन्ट खरीद गरेका थियौं, तर २/३ दिनअघि सिमेन्ट उद्योगीले प्रतिबोरा १०० रुपैयाँ मूल्य बढाउने निर्णय गरेका छन् ।’

सरकारले पुरानै भुक्तानी नदिएको र अन्य मागहरू पनि सम्बोधन नगरेका बेला सिमेन्ट उद्योगीले मूल्य बढाउँदा काम गर्न थप समस्या हुने सिंहले बताए । अहिले उद्योगले सिमेन्टको मूल्य न्यूनतम ५५० रुपैयाँदेखि अधिकतम ८०० तोकेका छन् । ‘सिमेन्ट उत्पादनसँग सम्बन्धित इन्धनलगायत कुनै पनि कच्चापदार्थमा मूल्यवृद्धि नहुँदा पनि सिमेन्टको भाउ बढाइएको निर्माण व्यवसायीको गुनासो छ ।

सरकारले पुरानै भुक्तानी नदिएको र अन्य मागहरू पनि सम्बोधन नगरेका बेला सिमेन्ट उद्योगीले मूल्य बढाउँदा काम गर्न थप समस्या हुने निर्माण व्यवसायीको भनाइ छ ।

‘सीमित सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रतिबोरा १०० रुपैयाँभन्दा बढी मूल्य वृद्धि गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘खुला बजार अर्थतन्त्रको नीति विपरीत गरिएको यस किसिमको अव्यावहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि स्वीकार्य छैन ।’ विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण पूर्वाधारको खर्च बढेर आर्थिक बोझ थपिएको महासंघले उल्लेख गरेको छ । म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीको अर्बाैं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशयी भएको उल्लेख गरिएको छ । महासंघले मूल्यवृद्धि अविलम्ब खारेज गर्न माग पनि गरेको छ । 

यता, नेपाल सिमेन्ट उत्पादनक संघका अध्यक्ष ध्रुव थापाले अहिले निर्माणको सिजन भएकाले पनि केही मूल्य बढ्नु वा बढाउनु स्वाभाविक भएको प्रतिक्रिया दिए । ‘यद्यपि आधिकारिक रूपमा संघले सिमेन्टको मूल्य बढाएको छैन,’ थापाले भने, ‘मेरो कम्पनीले नै साउन/भदौतिर प्रतिबोरा ७०/८० रुपैयाँ घाटामा सिमेन्ट विक्री गरेको थियो ।’ 

सिमेन्टको मूल्य बढाउन अरू कारण नभएको भन्दै उनले घाटामा उत्पादन गरेका उद्योगले मूल्य बढाएको हुन सक्ने बताए । निर्माणको सिजन शुरू भए पनि बजारमा उल्लेख्य मात्रामा सिमेन्टको माग नबढेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)