ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘दूरगामी दृष्टिकोण भए आर्थिक विकासमा समय लाग्दैन’ 

२०८० पुस, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । कुशल नेतृत्व र दूरगामी दृष्टिकोण भए मुलुकको आर्थिक विकासले गति लिन समय नलाग्ने आर्थिक बहसका सहभागीहरूले बताएका छन् । उद्योग संगठन मोरङले आयोजना गरेको ‘वर्तमान आर्थिक परिदृश्य : चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोइन्ट ?’ विषयक कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।

सबै बिग्रियो भनेर बस्नुभन्दा पनि अब अगाडि बढ्न अपनाउनुपर्ने सकारात्मक काम के के हुन सक्छन् भनेर पहिल्याउनुपर्ने सहभागीले बताएका छन् । कार्यक्रममा संघीय प्रतिनिधिसभाका सांसदहरू दामोदर भण्डारी (नेकपा एमाले), माधव सापकोटा (नेकपा माओवादी केन्द्र, सुमना श्रेष्ठ (रास्वपा), नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला वक्ताका रूपमा सहभागी थिए । 

कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले अहिले मुलुकको अर्थतन्त्र संकटमा रहेको र औद्योगिक क्षेत्र मात्र होइन, समग्र समाज नै नराम्ररी प्रभावित भएको उल्लेख गरे । राजनीतिक मुद्दामा मात्र चासो, सरोकार र बहस हुने गरेको नेपाली समाजमा आर्थिक विषयमा बहस र छलफल केन्द्रित हुनु सकारात्मक पक्ष रहेको उनले बताए ।

अध्यक्ष सुरानाले वित्तीय क्षेत्रमा भएको नीतिगत अस्थिरताका कारण व्यवसायमा अनुमान गर्न सक्ने वातावरण नभएको बताए । नीतिगत मात्र नभई सेवा प्रवाहमा समेत जवाफदेहीपन नभएको भन्दै उनले राजनीतिज्ञले स्थिर नीति ल्याउनुपर्ने र कर्मचारीतन्त्र सेवा प्रवाहमा जवाफदेही बन्नुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले नेपालको आर्थिक विकासका महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पर्यटन, विद्युत्, कृषि, सूचना प्रविधि, सिमेन्ट जस्ता सेवा तथा उत्पादनमूलक उद्योगमा लगानी केन्द्रित गर्न आग्रह गरे । साना उद्योगमा लगानी गरी निर्यात गर्न चाहने उद्योगलाई वित्तीय संस्थाले सरल रूपमा कर्जा प्रवाहको व्यवस्था गर्नुपर्ने उनले बताए । देशको व्यापार घाटा न्यूनीकरणका लागि विलासिताका वस्तु उपभोगमा उपभोक्ता स्वयं सजग भई त्यस्ता वस्तुको आयात निरुत्साहित गर्न उनले अनुरोध गरे ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले वित्तीय क्षेत्रमा भएको नीतिगत अस्थिरताका कारण व्यवसायमा अनुमान गर्न सक्ने वातारण नभएको बताए । राजनीतिज्ञले स्थिर नीति ल्याउनुपर्ने र कर्मचारीतन्त्र सेवा प्रवाहमा जवाफदेही बन्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सांसद श्रेष्ठले अर्थतन्त्रको सबलीकरणका लागि तथ्यांक र अनुसन्धानका माध्यमबाट अन्तरवस्तु केलाई यस क्षेत्रको विकासमा देखिएका समस्यालाई नीतिगत, कार्यगत सुधार गर्नुपर्ने बताइन् । स्वदेशी उद्योगको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्नुपर्नेमा समेत उनले जोड दिइन् ।

यसैगरी सांसद सापकोटाले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै जाँदा राज्यको ढुकुटीबाट जुन प्रकारले लगानी हुनुपर्ने हो, त्यो हुन नसकेको बताए । वर्तमान समय पैसा हातमा राखेर बस्नुभन्दा पनि त्यसलाई लगानी गरेर मुनाफा गर्ने वातावरण बनाउन सबै पक्ष उत्तिकै जिम्मेवार रहेको उनले औंल्याए । अर्का सांसद भण्डारीले आर्थिक विकासविना समृद्ध मुलुक निर्माण नहुने तर्क राख्दै सरकारलाई जिम्मेवार भएर अघि बढ्न सुझाव दिए । हरेक क्षेत्रमा व्याप्त निराशाको अन्त्य गर्न सरकारको प्रमुख दायित्व भएको उनले बताए ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले निजीक्षेत्र लामो समयदेखि समस्यै समस्याको भूमरीमा फसेको बताए । सरकार परिवर्तन भएपछि समस्या समाधानका लागि आग्रह गर्दै आए तापनि उल्लेख्य सुधार नआएको उनको भनाइ छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निरौलाले उद्योग व्यवसायको प्रवर्द्धन गर्नु मन्त्रालयको दायित्व भएकाले यस क्षेत्रको समस्यालाई क्रमश: समाधान गरिँदै लैजाने आश्वासन दिए । लगानीमैत्री वातावरण निर्माण गर्नु मन्त्रालय र मातहतका निकायको प्रमुख जिम्मेवारी भएको भन्दै उनले हताश एव निराश नहुन उद्योगीलाई आग्रह गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)