ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत् कम्पनीको शेयर :लाभांश नदिए पनि लगानीकर्ताको आकर्षण बढ्दो

२०८० पुस, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीमा सबैभन्दा धेरै जलविद्युत्का छन् । हाल नेप्सेमा ८९ जलविद्युत् कम्पनी सूचीकृत छन् । आगामी दिनमा धितोपत्र बजारमा भित्रिन लागेका कम्पनीको संख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ ।

पछिल्ला वर्षहरूमा धितोपत्रको दोस्रो बजारमा भएको कारोबारको अवस्था हेर्दा लगानीकर्ताको आकर्षण जलविद्युुत् क्षेत्रका कम्पनीकै शेयरमा देखिन्छ । तर, यस क्षेत्रका कम्पनीको लाभांश वितरण स्थिति हेर्दा सूचीकृत ८९ कम्पनीमा हालसम्म सातओटाले मात्रै गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले लाभांशविना नै साधारणसभा बोलाएका छन् । 

सूचीकृत ८२ जलविद्युत् कम्पनीले लाभांश दिएका छैनन् । वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण मानिएको छ । 

राम्रा वित्तीय अवस्था भएका र निरन्तर लाभांश वितरण गर्ने जुनसुकै क्षेत्रका कम्पनीको शेयरमा लगानी गर्नु सुरक्षित र फलदायी हुने विश्लेषक बताउँछन् । तर, खुद नोक्सानीमा रहेका, अझै केही वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेका कम्पनीको शेयर किन्नु कत्तिको सुरक्षित हुन्छ त ? 

शेयरबजार जोखिम नै जोमिखले भरिएको क्षेत्र हो । शेयरबजारमा लगानी गरेर व्यापक आर्थिक उन्नति गरेका र सर्वस्व गुमाएका दुवै उदाहरण छन् । लगानीकर्ताले कम्पनीको वित्तीय विवरण, लाभांश जस्ता पक्षलाई राम्ररी केलाएर लगानी गर्न नसके दु:खले आर्जन गरेको रकम गुम्न सक्ने जानकार बताउँछन् । त्यसैले शेयरबजारमा धेरै कुरा विचार गरेर मात्रै लगानी गर्नुपर्ने उनीहरुको सुझाव रहन्छ । 

शेयरबजार सधैं बढ्ने वा घट्ने हुँदैन । यी दुई ट्रेन्डलार्ई राम्रोसँग नियालेर लगानी गर्न सके लगानी सुरक्षित हुने सम्भावना बलियो हुने विश्लेषहरूको भनाइ छ । 

वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण 

लगानीकर्ता नवराज दाहाल धेरैजसो अल्पकालीन कारोबारीले जलविद्युत् कम्पनीको शेयर किनबेच गर्ने बताउँछन् । यही कारण उक्त क्षेत्रका कम्पनीको शेयर मूल्यमा बढिरहेको दाहालले बताए । उनको भनाइमा यी कम्पनीमा ३ वर्षको लकइन पिरियड हुन्छ । ‘तीन वर्षपछि हकप्रद शेयरको फन्डा चलाएर पनि शेयर मूल्य उचालिरहेका हुन्छन्,’ दाहालले भने । 

वाणिज्य बैंकको हकमा शेयर संख्या धेरै हुँदा लाभांश घटिरहेको छ । लघुवित्त कम्पनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सजिलो छैन । इन्स्योरेन्स कम्पनीले हकप्रद, बोनस वा थप निष्कासन (एफपीओ) के गरेर पूँजी पुर्‍याउँछन् भन्ने अन्योल छ । त्यसैले लगानीकर्तासामु कारोबार गर्न विकास बैंक, फाइनान्स र हाइड्रोपावर नै विकल्पका रूपमा रहेको उनको भनाइ छ । ‘अरू सेक्टरका कम्पनीको जस्तो धेरै पूँजी हाइड्रोपावर कम्पनीको छैन । 

अहिले आएका हाइड्रोपावरले २० देखि ३० प्रतिशत शेयर सर्वसाधारणलाई बेचेका हुन्छन्, अरू संस्थापकसँग हुन्छ,’ दाहालले भने, ‘यी कारणले गर्दा हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।’ शेयर संख्या थोरै भएपछि चलखेल गर्न पनि सजिलो हुन्छ । यस्तोमा सानो समूहले नै माग बढाएर भाउ उचाल्ने र मूल्य उच्च बिन्दुमा पुगेपछि आफूसँग भएको सबै शेयर बेचेर नाफा कमाउने गर्न पनि सक्छ । 

अर्का लगानीकर्ता विष्णु पराजुली जलविद्युत् कम्पनीको शेयर मूल्य बढ्नुमा शेयर संख्या कम हुनुलाई मुख्य कारण मान्छन् । थोरै शेयर हुनेबित्तिकै कारोबारीले केही समय शेयर होल्ड गरेर राख्नेबित्तिकै माग सृजना हुन्छ । ‘अरू सेक्टरका कम्पनीको शेयर संख्या धेरै हुन्छ । 

किनेर राख्यो, मूल्य खासै बढ्दैन,’ पराजुलीले भने, ‘पछिल्लो समय लगानीकर्ताले दीर्घकालीन लगानीभन्दा अल्पकालीन कारोबारमा जोड दिइरहेका छन् । अल्पकालीन लगानीमा लगानीकर्ताको रोजाइ कम पूँजी भएको कम्पनीमा हुन्छ । यसकारण पनि जलविद्युत् कम्पनीको शेयर मूल्य बढेको हो ।’

आइतवार जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ५५ प्रतिशत बढेको छ । यस समूहका अधिकांश कम्पनीको शेयरमूल्य माथि गएपछि समूहगत परिसूचक बढेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)