ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तोरीखेतीमा चितवनका किसानको आकर्षण : उत्पादन तथा उत्पादकत्व बढ्ने प्रक्षेपण

२०८० पुस, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा तोरीखेती गर्ने किसान बढ्न थालेका छन् । जिल्लामा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढ्न थालेको हो । गहुँ र तोरीको सिजन एकै समयमा परे पनि तोरीमा तुलनात्मक रूपमा खर्च कम र आम्दानी बढी हुने भएकाले यसको खेतीमा किसान आकर्षित हुन थालेका छन् ।

दुई दशक अघिसम्म चितवन ‘तोरीको जिल्ला’को रूपमा परिचित थियो । त्यसपछि केही वर्ष तोरीको उत्पादनमा ह्रास आएको थियो । तर पछिल्ला वर्षमा किसानले यसको खेती बढाएका छन् । माग बढेसँगै तोरीले राम्रो मूल्य पनि पाउन थालेको छ ।

खासगरी पूर्वी चितवनका अधिकांश किसानले यस वर्ष तरकारीको सट्टा तोरी लगाएका छन् । रत्ननगर नगरपालिका–७ का किसान छनुराम महतो तोरीको उत्पादन र आम्दानी राम्रो हुने भएकाले आफूले यसको खेतीलाई निरन्तरता दिँदै आएको बताउँछन् । उनले १५ वर्षदेखि १६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएका छन् ।

तोरीखेतीमा खर्च कम लाग्ने, रोगकीराको प्रकोप कम देखिने र फाइदा पनि धेरै हुने भएकाले आफूले तोरीखेती गर्दै आएको उनको भनाइ छ । ‘अहिले तोरीको बजार राम्रो छ, कतिपय ग्राहक घरमै आएर तोरी खरीद गर्नुहुन्छ । तोरी मिलले पनि लैजान्छन्, बजार नपाउला भन्ने चिन्ता नै छैन,’ उनले भने । तोरीबालीका लागि समयमै मल उपलब्ध भए र मौसमले साथ दिएमा राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

चितवनमा तोरी कात्तिकमा छरेर माघको अन्तिममा थन्क्याइन्छ । अधिकांश किसानले वर्षे धान थन्क्याएपछि खेतमा तोरी लगाउँछन् ।

जिल्लाको रत्ननगर नगरपालिका–७ मैनाहाका अर्का किसान विक्रमी महतोले १३ वर्षदेखि ६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएकी छन् । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले आफूले तोरीखेती गर्दै आएको उनी बताउँछिन् । यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढ्ने उनको भनाइ छ । ‘अहिले तोरी पहेँलपुर भएर फुलेको छ, गतवर्ष पानी धेरै परेकाले केही असर गरेको थियो,’ उनले भनिन्, ‘यस वर्ष अहिलेसम्मको मौसम तोरीखेतीलाई सुहाँउदो छ, अब बाली थन्क्याउने बेला पानी परेन भने पोहोरको भन्दा बढी उत्पादन लिन सकिन्छ ।’

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी उमराज अर्यालले पछिल्लो समय चितवनका कृषक तोरीखेतीमा आकर्षित हुन थालेको बताए । चितवनमा ३–४ वर्षदेखि तोरीखेतीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा १४ हजार ७६५ हेक्टर क्षेत्रफलमा १९ हजार ४०५ मेट्रिकटन तोरी उत्पादन भएको थियो, जसमा १ दशमलव ३१ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको छ । यसैगरी आर्थिक वर्ष २०७८/७९ मा १२ हजार २६५ हेक्टर क्षेत्रफलमा १४ हजार ७१८ मेट्रिकटन तोरी उत्पादन भएको थियो, जसमा प्रतिहेक्टर १ दशमलव २ मेट्रिकटन उत्पादन भएको थियो ।

‘यस वर्ष तोरी उत्पादनको तथ्यांक आउने बेला हुँदै छ । तर हामीले फिल्ड भिजिटमा जाँदा पोहोर र अघिल्लो वर्षभन्दा यस वर्ष तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्व बढ्ने अनुमान गरेका छौं,’ उनले भने । तोरीबाली चाँडै पाक्ने र निकुञ्ज नजिक रहेका बारीमा पनि जंगली जनावरले कम असर गर्ने भएकाले किसानको आकर्षण बढ्दै गएको उनले बताए । पूर्वी चितवनका खैरहनी, कालिका, रत्ननगर र पश्चिम चितवनमा शिवनगर, पार्वतीपुर शुक्रनगर, मेघौली लगायत क्षेत्रमा तोरीखेती लगाउने किसान बढेको केन्द्रले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)