काठमाडौं। ‘वेलकम’ आत्मकथा हो । त्यसैले यसमा लेखक निर्मलराज पौडेलका निजात्मक कुरा हुने भइहाले । तर पुस्तकमा लेखक पौडेलले व्यक्त गरेका अनुभव तथा उल्लेख गरेका काम (आरोहअवरोह) नेपाली समाजका साझा भोगाइ हुन् । त्यसकारण पाठकका लागि लेखकका अनुभव तथा काम आफ्नै जस्ता लाग्छन् । यो पुस्तक पढेपछि नेपाली परिवेशमा हुर्केका बालक, किशोर, युवा सबै एकपटक आफ्नो अतीतमा पुग्छन् ।
पुस्तकमा सिक्ने, जान्ने र मनन गर्नुपर्ने विषय धेरै छन् । उदाहरणका लागि लेखक पौडेलका बुवाले भनेका कुराहरू ‘सम्पत्तिले कसलाई पो पुगेको छ र ? जति कमायो, उति उति कमाउन मन लाग्छ । हजार हुने पनि असन्तुष्ट छ, लाख हुने पनि असन्तुष्ट नै छ, करोडौं हुनेलाई अझै पुगेको छैन ।’ यी भनाइ मानवीय सोच र साझा बुझाइ पनि हुन् । तर यसलाई मनन गरेमा जीवनमा अनावश्यक तनाव, छटपटी र महत्त्वाकांक्षाले पिरोल्दैन ।
लेखक सानै उमेरदेखि आर्थिक गतिविधिमा लागेको र ३६ प्रतिशत ब्याजमा ऋण लिएर काम गरेको प्रसङ्ग पनि उद्यम व्यवसायमा केही गरौं भन्नेका लागि पठनीय छ । ‘व्यवहारको व्यथा, व्यापारको कथा’ शीर्षकमा पौडेल लेख्छन्, ‘ब्याज तिर्दातिर्दै भएको सबै पैसा सकियो । तैपनि निराश भएर हातखुट्टा छाड्ने चरित्रको थिइनँ । एउटा नभए अर्को काम थालिहाल्थेँ । त्यसकारण कहिल्यै पनि काम छैन भनेर झोक्र्याएर बस्नुपर्ने दिन आएन ।’
व्यावसायिक सफलता र असफलतामा लेखक कहिल्यै नआत्तिएको र नमात्तिएको कुरा जो कोहीका लागि अनुकरणीय हुन्छ । नआत्तिने र नमात्तिने स्वभावले नै आफूलाई सफलतामा पुर्याएको उनले ठानेका छन् ।
गार्मेन्ट व्यवसायी, फेन्सी व्यवसायी, जग्गा कारोबारी, सवारीसाधन कारोबारी, सहकारी सञ्चालक, कुखुरापालक, हास्य कलाकारलगायत भएर काम गरे पनि उनलाई बढी चिनाउने क्षेत्र भने विज्ञापन व्यवसाय हो । त्यसैले लेखकले पुस्तकको नाम पनि वेलकम राखेको बुझ्न कठिन छैन । उनको वेलकम एड्भरटाइजिङ ३ दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ । तर उनले हरेक क्षेत्रमा काम गर्दाको अनुभव, सिकाइ र भोगाइ भने फरकफरक छन् । कुखुरापालनमा लाग्दा आर्थिक नोक्सानी बेहोरेका पौडेलले पुरानो बानेश्वर चोकमा आफूले शुरू गरेको फेन्सी व्यवसाय (फर्गेट मी नट फेन्सी स्टोर)लाई जीवनको ‘टर्निङ पोइन्ट’ मानेका छन् ।
भनिन्छ, ‘जुन चलचित्रले फिल्म हलभित्र बस्दा दर्शकलाई आनन्द दिन्छ, त्यस्तो चलचित्रलाई सफल मान्नुपर्छ ।’ त्यही मान्यतालाई पुस्तकसँग तुलना गर्ने हो भने ‘वेलकम’लाई पनि सफल मान्न सकिन्छ । किनकि यो पुस्तक पढ्न थालेपछि एकपछि अर्को कौतुहल सृजना हुन्छ र हरेक अध्याय छिट्टै सिध्याउन मन लाग्छ । पुस्तक पढुन्जेल अन्यत्र ध्यान नै जाँदैन । आम पुस्तकको एउटा खास विशेषता यो पनि हो ।
पुस्तकमा कतिपय कुरा उल्लेख नगरेको र केही थप नयाँ ज्ञान तथा सूचना दिन सकिन्थ्यो भन्ने पनि लाग्छ । जस्तै, पौडेलले सानोमा एउटा हिन्दी फिल्म ६० भन्दा बढी पटक हेरेको उल्लेख गरेका छन् । यस्तो कुरा उल्लेख गर्नुको साटो त्यति धेरैपटक हेरिएको फिल्मको सन्देश के थियो भन्ने खुलाएको भए पाठकका लागि उपयोगी हुन सक्थ्यो । त्यस्तै उनी सानो हुँदा ‘ग्याङ फाइट’ भएको कुरा पनि बहुसंख्यक पाठकका लागि रोचक नहुन सक्छ । किनकि अधिकांशको बाल्यावस्थामा त्यस्ता लफडा भएका हुन्छन् । पुस्तकमा कतिपय विषयवस्तु र वाक्य दोहोरिनु पनि स्वाभाविक लाग्दैन ।
यी एकाध कुराबाहेक समग्रमा पुस्तक लेखकीय उद्देश्य प्राप्तिमा सफल नै देखिन्छ । पुस्तकको सबभन्दा राम्रो पक्ष लेखकले बाल्यावस्थामा देखे, भोगेको बानेश्वरलगायत काठमाडौं क्षेत्रको बयान हो । कोदो फल्ने बानेश्वर केही वर्षको अन्तरालमै कसरी घरैघरले भरिन पुग्यो भन्ने कुरा नयाँ पुस्ता, खासगरी इतिहासप्रति रुचि राख्नेका लागि निकै उपयोगी हुन सक्छ । खेतीयोग्य जमीन क्रंक्रिट जंगल बनेको कुरा मनन गरेर हुन सक्छ ।
मकैबारीले ढाकेको बेला बानेश्वरमा रातबिरात हिँड्न साह्रै गाह्रो हुने कुरा पौडेलले उल्लेख गरेका छन् । अहिलेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनी सानो छँदा खेल्ने गरेको कुरा पनि पाठकलाई रोचक लाग्न सक्छ । लेखकले उल्लेख गरेका यस्ता थुप्रै विषयले पुस्तकलाई जीवन्त बनाएको छ ।
पुस्तक घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको हो । २९० पृष्ठको उक्त पुस्तकको मूल्य ६०० रुपैयाँ रहेको छ ।